रत्ननगर, भदाै २५ । रत्ननगर नगरपालिका वडा नं १५ मा विहीबार देखि नि:शुल्क ६० दिने लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
वडा अध्यक्ष आशिक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले तयारी कक्षाको उद्घाटन गरेका थिए । लोकसेवा सारथी प्रा.लि खैरहनीको सहजीकरणमा सुरु भएको उक्त कक्षामा ४५ जना प्रशिक्षार्थी सहभागी भएका छन् ।
गरिबी न्यूनीकरण गर्दै वडा भित्रका युवाहरुलाई सरकारी सेवामा अबसर प्रदान गर्ने उद्देश्यले सो वडा कार्यालयले विगत पाँच बर्षदेखि लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।
तयारी कक्षामा सहभागीहरुलाई लोकसेवा परीक्षाको लागि आवश्यक पर्ने किताब निःशुल्क रुपमा प्रदान गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत खनालले लोकसेवा परीक्षा पास गर्नु चानचुने विषय नभएको भन्दै सफलता हासिल गर्न पुस्तक अध्यायनसंगै अतिरिक्त ज्ञान समेत आवश्यक पर्ने बताए ।
स्थानीय सरकारले युवाहरुलाई सरकारी सेवामा जागिरे होस भनेर आयोजना गरेको लोकसेवा तयारी कक्षा नवीनतम काम भएको भन्दै उनले यसलाई अबसरको रुपमा लिएर जीवनरेखा सहज बनाउने तर्फ केन्द्रीत हुन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईँले वडा कार्यालयले लोकसेवा तयारी कक्षा सञ्चालन गर्दा प्रशिक्षार्थी नपाउने समस्या रहेको भन्दै यसको जड खोज्नु पर्ने भन्दै सरकारी सेवा गरेर देशमै बस्ने युवाहरुको चाहनामा कमी आएको आफुले पाएको बताए ।
वडा नं १६ का वडा अध्यक्ष हेमराज थापाले स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालयले सुरु गरेको तयारी कक्षा युवाहरुको लागि महत्वपूर्ण अबसर भएको बताए ।
लोकसेवा सारथि प्रा.लि.का सञ्चालक महेश घिमिरेले स्थानीय सरकारसंग सहकार्य गरी चितवनमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको बताए । चितवनमा अहिले सम्म करिब ५ हजार युवालाई लोकसेवाको तयारी कक्षा दिएको भन्दै ति मध्ये झण्डै २ हजार ५ सय भन्दा बढीले नाम निकाल्न सफल भएको उनले जानकारी दिए ।
वडा अध्यक्ष तामाङले निजामती सेवा प्रवेशमा सहजताका लागि वडा कार्यालयले हरेक बर्ष लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको भन्दै अहिले सम्म करिब २५० भन्दा बढी युवालाई लोकसेवा तयारी कक्षामा सहभागी गराइएकाेमा १० जनाले लाेक सेवामा नाम निकाल्न सफल भएकाे जानकारी दिए ।
तालिम, गोष्ठी र भ्रमण गर्दा रमाउने समाजले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्दा विरोध गर्ने परिपार्टीको अन्त्य हुनुपर्ने भन्दै उनले कालन्तर सम्म लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने बताए । वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम इमप्रसाद पन्तले सञ्चालन गरेका थिए ।








