कालिका, भदाै १८ । चितवनको कालिका नगरपालिका- १ सूर्यपुर स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरका कक्षा नर्शरी देखि १० कक्षा सम्म एंव बाल विकास कक्षा, स्काउट, ग्रीन आर्मी, इकाे क्लव, रेडक्रस, बाल क्लव, शिक्षक तथा कर्मचारीले आफ्नै खाजा खर्चबाट रकम बचत गरी रसुवाका बाढीपहिरो पीडितका लागि सहयोग गरेका छन् ।

विद्यार्थीहरूले स्वस्फूर्त रूपमा एक/दुई छाकको खाजा खर्च त्याग्दै रु.२६ हजार ४० रूपैँया संकलन गरेका हुन् । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकका लागि सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले जानकारी दिए ।

सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो व्यक्तिगत आवश्यकतामा खर्च हुने रकम विपत्तिमा परेका नागरिकको सहयोगका लागि समर्पण गरेका हुन् ।










