कालिका, भदाै १७ । स्थानीय तह र सुरक्षा निकायबीचको समन्वय सुदृढ बनाउन चितवनकाे कालिका नगरपालिकाद्वारा नेपाली सेनालाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ । बाढी, पहिरो, आगलागी र डुबानजस्ता प्राकृतिक प्रकोपका बेला तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यो सामग्री उपलब्ध गराइएको नगर प्रमुख एंव विपद् व्यवस्थापन संयाेजक बिनाेद रेग्मीले जानकारी दिनुभयाे ।
नगरपालिकाले बुधवार सिंहनाथगण कमाण्डो शक्तिखोरका नेपाली सेनालाई ढुङ्गा चलाउने (पेडल) ६ वटा, मास्टर पेडल १ वटा, लाइफ ज्याकेट १५ वटा, र्याप्टिङ हेल्मेट ९ वटा, जेलकोट ५ लिटर विपद् व्यवस्थापन सामग्री प्रदान गरेकाे विपद् व्यवस्थापन समितिका सदस्य सचिव तथा नगरपालिकाका ईन्जिनियर राजेश काेईरालाले जानकारी दिनुभयाे ।
यसैगरी, असार १६ गते नेपाल पुलिस जुटपानीलाई समेत नगरपालिकाले लाइफ ज्याकेट २ वटा, हेल्मेट ४ वटा, मेघाफोन १ वटा, स्ट्रेचर १ वटाफ टर्चलाइट १ वटा, डाेरी (उद्धार डाेरी) १०० मिटर, ट्युब २ वटा, कोदालो १ वटा, बेल्चा २ वटा, गैंची १ वटा विपद्का सामग्री प्रदान गरेको उहाले बताउनुभयाे ।
नगर प्रमुख बिनाेद रेग्मी आफैं पनि विपद्को समयमा जनताको सेवामा सक्रिय देखिनुभएको छ । उहाँले मेयरका लागि प्रयोग हुने सुविधाको गाडी प्रयोग नगरी एम्बुलेन्समार्फत जनताको सेवामा खटिँदै आउनुभएकाेछ ।
चितनकाे नारायणी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा फेला परेका शवको सनाखतपछि सम्बन्धित ठाउँसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले कालिका नगरपालिकाले भरतपुरमा निःशुल्क शव वाहन परिचालन गरेको थियाे ।
सनाखत भएका शवलाई सम्बन्धित परिवार तथा आफन्तसम्म पुर्याउन समस्या देखिएपछि कालिका नगरपालिकाले मानवीय सेवाका रूपमा शव वाहन उपलब्ध गराएको हो ।
नगर प्रमुख रेग्मीका अनुसार विपत्तिको समयमा पीडित परिवारलाई सहयोग पुगोस् र शव ओसारपसारमा आर्थिक तथा अन्य स मस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क शव वाहन सञ्चालन गरिएको हाे ।








