चितवन, असोज ३ । कालिका नगरपालिका–६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड १ लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ। शनिबार सम्पन्न संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार १० करोड ९५ लाख ६० हजार ८४१ रुपैयाँ आम्दानी गरेको संस्थाले ६ करोड ९४ लाख ५३ हजार ९१४ रुपैयाँ खर्च कटाएर आयकर अघि ४ करोड १ लाख ६ हजार ९२७ रुपैयाँ मुनाफा कमाएको हो। आयकर र कर्मचारी बोनस भुक्तानीपछिको खुद मुनाफा भने ३ करोड ४३ लाख १ हजार ७२९ रुपैयाँ रहेको छ।
संस्थाका अध्यक्ष लालुप्रसाद दाहालको अध्यक्षता एवं कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगरप्रमुख रेग्मीले सुरक्षित सहकारीले स्थानीय स्तरमा आर्थिक विकास र सशक्तिकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। अध्यक्ष दाहालले नीति, विधि र प्रविधिलाई आत्मसात् गर्दै सदस्यहरूको हितमा काम गरेकाले संस्था बागमती प्रदेशमै उत्कृष्ट बन्न सफल भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा उपाध्यक्ष टंकबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिवको अनुपस्थितिमा सञ्चालक सदस्य रामकृष्ण लम्सालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विद्याधर बास्तोलाले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक होमप्रसाद भट्टले आन्तरिक लेखा परीक्षण प्रतिवेदन र प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठकले बजेट प्रस्तुत गर्नुभएको थियो।
कुल ४ हजार ८८५ जना शेयर सदस्य रहेको यस संस्थाको शेयर पुँजी १० करोड ७ लाख ५ हजार ४०० रुपैयाँ, कुल सम्पत्ति तथा दायित्व १ अर्ब ३ करोड ३० लाख ३४ हजार ८६६ रुपैयाँ, कुल निक्षेप संकलन ६६ करोड ४३ लाख ६० हजार ९८३ रुपैयाँ र ऋण लगानी ७४ करोड ६३ लाख ८७ हजार ७३२ रुपैयाँ पुगेको छ।
त्यस्तै संस्थाको स्थिर सम्पत्ति १ करोड ५ लाख ७५ हजार १६ रुपैयाँ, जगेडा कोष १५ करोड ४० लाख ७९ हजार ९९९ रुपैयाँ, प्राथमिक पुँजीकोष ३७.७४ प्रतिशत र कुल पुँजीकोष ४०.१० प्रतिशत रहेको छ। साधारण सभाका अवसरमा ६ जना जेष्ठ शेयर सदस्य र १९ जना उत्कृष्ट कारोबारीलाई पुरस्कार प्रदान गरियो। साथै, १० वर्ष सेवा पूरा गरेकी कर्मचारी रज्मी बास्तोलालाई ‘दशक सेवा पदक’ र सुमन महतोलाई ‘उत्कृष्ट कर्मचारी’को रूपमा सम्मान गरिनुका साथै संस्थालाई उत्कृष्ट बनाउन योगदान पुर्याएको भन्दै सम्पूर्ण कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्षहरू लक्ष्मण पौडेल र टिकाराम रेग्मी, सल्लाहकारहरू केशब लामा र सविता लामा, पूर्वअध्यक्षहरू द्रोणप्रसाद लामिछाने, शित्तलकाजी श्रेष्ठ र श्यामन्तकमणि लामिछाने तथा शेयर सदस्यहरू रिता भट्ट पाठक र हरिप्रसाद भण्डारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। वि.सं. २०६५ मा स्थापना भएको यस सहकारीले हाल कालिकाको पदमपुर, रत्ननगरको टाँडी र भरतपुरमा सदस्य सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।








