चैनपुर (चितवन) । पूर्वी चितवनको खैरहनी नगरपालिका–२, चैनपुरस्थित जनजीवन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न ‘चौथो चैनपुर कप–२०८३’ खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि एफसी मनहरी मकवानपुरले हात पारेको छ।
शनिबार सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा एफसी मनहरीले बाघमारा एफसी रत्ननगरलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। खेलको अन्तिम समयतिर मौसम प्रतिकूल बन्न पुगेपछि थप (अतिरिक्त) २ मिनेट समय बाँकी छँदै दुवै टिमको आपसी समझदारीमा खेल समापन गर्ने निर्णय गरिएको थियो।
त्यस समयसम्म एफसी मनहरीले २ गोल र बाघमारा एफसीले १ गोल गरिसकेकाले सोही नतिजाका आधारमा मनहरी विजयी बनेको हो। उपाधिसँगै विजेता बनेको एफसी मनहरीले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बाघमारा एफसीले नगद रु. ५० हजार, ट्रफी र मेडलमा चित्त बुझाएको छ।
भदौ १० गतेदेखि सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजक आरोही एचआर सोलुसन प्रा. लि. (काठमाडौँ, शाखा कार्यालय भरतपुर हाकिमचोक) रहेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पनि समापन समारोहमा पुरस्कृत गरिएको थियो। जसअन्तर्गत एफसी मनहरीका जर्सी नम्बर ९ का खेलाडी सुजन गुरुङ सर्वोत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित भए।
त्यस्तै बाघमारा एफसीका नवीन थापामगर उत्कृष्ट मिडफिल्डर, कालिका युनाइटेडका विजय श्रेष्ठ सर्वाधिक गोलकर्ता, राकेश चौधरी उत्कृष्ट डिफेन्डर तथा अश्मिर गोम्बा उत्कृष्ट गोलकिपर घोषित भए। फाइनल खेलको मुख्य रेफ्री सन्तोष राई रहनुभएको थियो भने उहाँलाई सहायक रेफ्रीहरू सरोज धिताल, रितिका पण्डित र अनिता महतोले साथ दिनुभएको थियो।
चैनपुर टोल विकास संस्थाका अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनियाले खेलकुदले युवाहरूलाई अनुशासित बनाउँदै सकारात्मक दिशातर्फ डोर्याउने उल्लेख गर्नुभयो। साथै उहाँले खैरहनी नगर क्षेत्रभित्र खेलकुद पूर्वाधार निर्माण तथा खेलाडीहरूको क्षमता विकासका लागि स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको बताउँदै स्थानीयस्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
समारोहमा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, खैरहनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेती, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सुजन क्षेत्री, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की तथा चैनपुर प्रहरी चौकीका प्रमुख गणेश घिमिरे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
चैनपुर युथ क्लब र चैनपुर टोल विकास संस्थाको संयुक्त आयोजनामा प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो।








