सञ्जय चौधरी, कालिका, जेठ ६ । दूध उत्पादनमा प्रोत्साहन स्वरुप कालिका नगरपालिकाले कृषकहरुलाई प्रतिलिटर दूधमा एक रुपैयाँका र बागमती प्रदेश सरकारबाट एक रुपैयाँ ६१ पैसा गरी रु २ रुपैँया ६१ पैंसाका दरले अनुदान वितरण गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा दूध उत्पादन गरी दुग्ध उत्पादक सहकारी संस्थाहरुमा विक्री गर्ने कृषकहरुलाई कालिका नगरभित्रका ७ वटा सहकारी संस्थामार्फत रु १ करोड ५ लाख १२ हजार ८ सय १३ रुपैयाँ ६ पैसा अनुदान रकम वितरण गरिएको हो ।
मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले २७ लाख १५ हजार ५ सय ३० रुपैयाँ ६५ पैसा, पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले २९ लाख ६८ हजार ७ सय ९६ रुपैयाँ ७ पैसा, नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्थाले १३ लाख ८४ हजार ६ सय ३८ रुपैयाँ ९३ पैसा, उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले २१ लाख ३२ हजार २ रुपैयाँ ५१ पैसा, सामुदायिक दुग्ध उत्पादक सहकारी संस्थाले ४ लाख १ हजार ३ सय ७९ रुपैयाँ ६३ पैसा, कन्चन दुग्ध उत्पादक सहकारी संस्थाले ३ लाख ९९ हजार १ सय ६६ रुपैयाँ १७ पैसा, भटेनी दुग्ध उत्पादक सहकारी संस्थाले ५ लाख ११ हजार २ सय ९९ रुपैयाँ गरी जम्मा १ करोड ५ लाख १२ हजार ८ सय १३ रुपैयाँ ६ पैसा अनुदान वितरण गरेको कालिकाका पशु शाखाका प्रमुख डा.राजु प्रसाद न्यौपानेले जानकारी दिए ।
अनुदानमा पाएका रकम दुग्ध उत्पादक सहकारी संस्थाहरुले आफ्ना कृषकहरुको बैंक खाता मार्फत नै रकम भुकतानी गर्ने उनको भनाई छ ।
कालिकाका कृषकहरुले वार्षिक ४० लाख २७ हजार ८ सय ९६ लिटर दूध सहकारी संस्थामार्फत विक्रीगर्दै आएका छन् ।
दुग्ध उत्पादक सहकारी संस्थालाई दूध विक्री गर्ने कृषकहरुलाई प्रतिलिटर दूधमा अनुदान कार्यक्रम अन्तर्गत १ करोड ५ लाख १२ हजार ८ सय १३ रुपैयाँ ६ पैसा अनुदान रकम सहकारी मार्फत नगरपालिकाले वितरण गरेको हो ।
नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङले संयुक्त रुपमा ७ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई उनीहरुले विक्री गरेको दूधको आधारमा पाउनुपर्ने अनुदान रकम बराबरको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिँदै आएको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि र पशुपालनलाई प्राथमिकता दिएको उनले बताए । आगामी आवमा पनि प्रतिलिटर दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको उनले जानकारी दिए । अनुदान दिने कार्यक्रमबाट साना, ठूला सबै किसानहरु लाभान्वित भएको उनको विश्वास छ ।
पशुपालन गर्ने कृषकहरुलाई घाँसको बीउ पर्याप्त मात्रामा पालिकाले उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरे । उत्पादनमा लागत घटाउँदै आर्थिक बृद्धिदर बढाउने तर्फ किसानहरुलाई लाग्न समेत उनले सुझाव दिए ।
कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले दूध उत्पादनसँगै यसलाई विविधिकरण गरेर बजारीकरणमा जोड दिन आग्रह गरिन् । चिसो पेयपदार्थको विगविगी भइरहेका बेला कालिकामा उत्पादन भएको दुध, दही, मही सबैले खान पाउनेगरी बजारीकरण गर्न उनले सुझाव दिइन् ।
स्थानीय बजारमा बाहिरबाट आएका उत्पादनलाई निरुत्साहित बनाउन स्थानीय उत्पादनवाट बन्ने विभिन्न परिकार स्थानीय बजारवाटै खपत गराउने तर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । कालिकाको उत्पादनलाई यहाँका स्थानीय बजारका पसल–पसलमा पुर्याउन सके आर्थिक बृद्धि हुने उनले विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले दुग्धजन्य परिकार उत्पादनमा सहकारीहरुले ध्यान दिनुपर्नेमा जोड दिए । आफ्नै उत्पादन गरेर ब्राण्डीङ गर्न समेत उनले सुझाव दिए । कालिकाको दूध भन्ने वित्तिकै गुणस्तरीय छ भन्ने सन्देश दिनुपर्ने गरी काम गर्न सहकारीलाई उनले निर्देशन दिए ।
उत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद ढुंगानाले दूध उत्पादनमा प्राप्त अनुदान रकमले कृषकहरुमा उत्साह थपिएको बताए । पालिकाले स्थापना भए देखिनै किसानलाई उत्प्रेरणा दिने खालका कार्यक्रम गर्दै आएको उनले बताए । हरेक किसानको अभिभावक नगरपालिका भएकाले पालिकाबाट प्राप्तहुने अनुदान लगायत अन्य सहयोगहरु सबैको पहुँचसम्म पुर्याउन उनले आग्रह गरे । माग्ने आउनेलाई मात्रै दिने परिपाटी अन्त्य गरी आवश्यकताका आधारमा वितरण भए सबैको पहुँच हुने उनको भनाई छ ।
कार्यक्रम आर्थिक विकास समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा आयोजना गरिएको हो ।








