रत्ननगर, साउन ४ । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आज बाट आयोजना गरेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, कथा प्रवचन, श्रावण मेला मेला बोलबम उत्सव २०८२ लाई रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आज एक औपचारिक समारोहका बीच उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै मेयर सापकोटाले धर्म र संस्कृतिले मानवजगतलाई बाँधेर राख्ने भन्दै मानिसहरुको आस्था धर्म संग जोडिने बताए, उनले भने ” मन्दिर तथा भगवानको छेउमा पुग्दा मानिसहरु नतमस्तक रहदै लोभ, लालच, पद, प्रतिष्ठा भुलेर भगवानप्रति समर्पित हुने गर्दछन” ।
पुराण तथा धर्मका कथा जति सुन्यो उति सुनिरहन मन लाग्ने हुनाले यस्ता ज्ञान महायज्ञलाई रत्ननगर नगरपालिकाले सदैव साथ दिने उनको निष्कर्ष थियो ।
सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले मन्दिर परिषरमा द्वादश ज्योर्तिलिङ्ग, १०८ शिवलिङ्ग स्थापना एवम् धर्मशाला सत्तल, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थको लागि महायज्ञको आयोजना गरेको समितिका अध्यक्ष रामकृष्ण महतोले जानकारी दिए ।
समितिका उपाध्यक्ष रामु पौडेलले स्वागत मन्तव्य तथा उद्धेश्य माथि प्रकाश पार्दै आगामी १ हप्ता सम्म प्रवचन कार्यक्रममा सहभागी हुन आग्रह गरे । भगवानको कर्ममा स्वच्छ मन भए सफलता मिल्ने पौडेलको भनाई थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ९ का अध्यक्ष अनन्त अधिकारी, जिल्ला समन्वय समितिको सदस्य सबिता चौधरी, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव प्रसाद अर्याल, कथा वाचक समाजसेवी पण्डित दिपक प्रसाद पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम संचारकर्मी रामु आचार्यले संचालन गरेका थिए । औपचारिक कार्यक्रम भन्दा पहिले करिव १ हजार स्थानियहरुको उपस्थितिमा कलश यात्रा निकालिएको थियो । कलश यात्रा अन्तर्गत विभिन्न जातजातिका झाँकी प्रस्तुती सहित पन्चेबाजा बजाउदै महायज्ञस्थल हुँदै झोलुङ्गेपुल, कपरफोरी, कृष्ण मन्दिर, हरिहर मन्दिर, ललितादेवी दुर्गा मन्दिर, सिसै, बेलटांडी लगायतका स्थान परिक्रमा गरिएको कलश यात्रा संयोजक लक्ष्मी भट्टले जानकारी दिईन् ।
आगामी १ हप्ता सम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, कथा प्रवचन, श्रावण मेला मेला बोलबम उत्सव २०८२ मा उपस्थित भएर धार्मिक तथा आध्यात्मिक लाभ लिन मन्दिर व्यवस्थापन समितिले सम्पूर्णमा आग्रह समेत गरेको छ ।








