रत्ननगर, असार १२ । चितवनको कालिका नगरपालिकाले पशु सेवा शाखा मार्फत किसानका लागि दूग्ध जन्य पदार्थको विविधिकरणका लागि डेरी उपकरण सामग्री खरिदमा ५० प्रतिशत अनुदान दिएको छ ।
कालिका वडा नं. २ मा रहेको पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लि.लाई कालिकाको पशु सेवा शाखाले १० लाख मुल्य बराबरको मोही बनाउने मेसिन, खुवा बनाउने मेसिन, दूध तताउने मेसिन, पनिर बनाउने मेसिन, भर्टिकल फ्रिज, डिफ्रिज, मिल्क क्यान ५० प्रतिशत अनुदानमा दिएको हो ।
सहकारी संस्थाका कार्यबाहक अध्यक्ष भैरव प्रसाद धिताललाई कालिकाका नगर प्रमुख विनोद रेग्मीले हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै नगर प्रमुख रेग्मीले नगरले कृषि र पशुपालनलाई पालिकाको समृद्धिको आधारस्तम्भ मानेर पहिलो प्राथमिकतामा राखी कार्यक्रम र बजेट बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘किसानको हित कसरी हुन्छ, हामी गम्भीर छौं, यसकारण आर्थिक वर्ष २०८२/०८३ को बजेटमा किसानको लागि सम्बोधन गरेर प्रस्तुत गरेका हौं ।’
कालिका नगरपालिकको मातहतमा रहने किसानहरुले कृषि फम दर्ता गर्दा र नबिकरण गर्दा जम्मा एक सय रुपैंया तिर्नुपर्ने बताउनुभयो ।
सहकारी संस्थाका कार्यबाहक अध्यक्ष धितालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरका प्रवक्ता तथा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दिपक भट्टराई लगाएतले मन्तव्य राख्नुभएको थियो ।
डेरी उपकरण सामग्री बितरण कार्यक्रममा उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, कालिकाका शाखा अधिकृत प्रकाश चन्द्र पौडेल, राम शर्मा, पशु सेवा शाखा प्रमुख पशुचिकित्सक डा.राजु प्रसाद न्यौपाने, पशु विकास अधिकृत ईश्वरी प्रसाद पौडेल, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल लगाएतको सहभागिता रहेको थियो ।







