रत्ननगर, असार ५ । पूर्वी चितवनको सौराहामा विहीबार निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ ।
ग्रिन सोसाइटी नेपाल र ग्रिन सोसाइटी पब्लिक स्कुलले सयुक्त रुपमा आयोजना गरेको उक्त शिविरमा ११५ जनाको आँखाको उपचार गरिएको सोसाइटीका महासचिव शीरलाल परियारले जानकारी दिए ।

शिविरमा उपचार गराएका मध्ये १४ जनामा मोतिया विन्दुको समस्या देखिएकोले निःशुल्क शल्यक्रियाको लागि भरतपुर आँखा अस्पतालमा पठाइएको महासचिव परियारले जानकारी दिए ।
ग्रिन सोसाइटी नेपालका संस्थापक जर्मनी नागरिक स्वर्गीय डा. मेड डिटर दाउन्सको स्मृति दिवसको अबसर पारेर शिविर आयोजना गरिएको हो । महासचिव परियारले ग्रिन सोसाइटी नेपालले विपन्न समुदायका छोराछोरीलाई निःशुल्क शिक्षा, शैक्षिक सहयोग, विकट पहाडी क्षेत्रमा स्वास्थ्य शिविर, चेपाङ बालबालिकाको शिक्षामा सहयोग लगायतका सामाजिक काम गर्दै आएको उनले जानकारी दिए ।
वडा नं ६ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ६ का वडाध्यक्ष किरण महतो लगायतको उपस्थिति रहेको थियो ।

ग्रिन सोसाइटी नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । नेपाल नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो ।







