खैरहनी, जेठ २८ । खैरहनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम पालिका घोषणा गरिएको छ। बुधबार एक समारोहबीच खैरहनी नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप नगरपालिका रूपमा घोषणा गरिएको हो।
नगरपालिकाका सबै १३ वटा वडाभित्रका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूले १५ महिनाको उमेरभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोपहरू लगाइसकेको सर्वेक्षणबाट प्रमाणित भएपछि यो घोषणा गरिएको हो।
यससँगै खैरहनी जिल्ला भित्र यो उपलब्धि हासिल गर्ने तेस्रो नगरपालिका बनेको छ। यसअघि माडी नगरपालिका र कालिका नगरपालिकाले पूर्ण खोप पालिका घोषणा प्रमाणीकरण गरिसकेका थिए।
नगरपालिका खोप समन्वय समितिका संयोजक एवं नगरप्रमुख शशीकुमार खनियाको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति चितवनका प्रमुख एवं जिल्ला समन्वय प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा खैरहनी नगरपालिकाले आफ्ना सबै १३ वडालाई पूर्ण खोप वडा प्रमाणपत्र प्रदान गरेर वडालाई पूर्णखोप घोषणा गरेको थियो।
सोही अवसरमा जिल्ला खोप समन्वय समिति चितवन को तर्फबाट समन्वय प्रमुख एवं जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव दिनेश रुपाखेतीले नगर प्रमुखलाई पूर्ण खोप पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा नगरप्रमुख, जिल्ला समन्वय प्रमुख सहित नगर उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत, नगर शिक्षा अधिकारी, सबै १३ वडाका अध्यक्षहरू, स्थानीय १३ वटा स्वास्थ्य संस्थाका प्रमुखहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो। वडा नम्बर १३ का वडाध्यक्ष एवं सामाजिक विकास समिति सदस्य कुलप्रसाद भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुखले बालबालिकाको नैसर्गिक अधिकार रहेकाले कोही बालबालिका नछुट्ने गरी खोप कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो घोषणा नगरपालिकाले स्वास्थ्य सेवामा पुर्याएको प्रतिबद्धता र सफलतापूर्ण कार्यान्वयनको प्रतीकका रूपमा लिइएको छ।








