रत्ननगर, १४ चैत । विश्व जल दिवसको साप्ताहिक कार्यक्रमअन्तर्गत सिद्धार्थ बैंक लिमिटेड टाँडी शाखाले रत्ननगरको लौरी घोल मुहान र आसपासको क्षेत्रमा सरसफाई गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत जल दिवसलाई साप्ताहिक रूपमा मनाउने क्रममा शनिबार बैंकका कर्मचारीहरूले लौरी घोलको मुहान क्षेत्र सरसफाई गरेका हुन् ।
टाँडी शाखा प्रमुख रमेश पौडेलले दिएको जानकारीअनुसार बैंकले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम निरन्तर गर्दै आएको छ । उनले जनचेतना जगाउने उद्देश्यले हालै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको, रत्ननगरका दुई विद्यालयलाई सहयोग प्रदान गरेको र छिट्टै रत्ननगर–१६ स्थित एक विद्यालयमा डिजिटल बोर्डलगायतका सामग्री उपलब्ध गराउने तयारी गरेको बताए ।
पौडेलले आगामी दिनमा पनि आवश्यक ठाउँमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरसफाई अभियानले जल स्रोतको संरक्षण र वातावरणीय सरसफाइप्रति स्थानीय समुदायमा चेतना फैलाउने विश्वास व्यक्त गरे ।








