रत्ननगर, माघ १९ । आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवन क्षेत्र नं १ ले घरदैलो कार्यक्रम सुरू गरेको छ ।
सोमबार राप्ती–८ र राप्ती–७ का मतदातासँग भेटघाट गर्दै चितवन १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले बदलिएको कांग्रेसले जेनजी युवाले उठाएको मुद्दा बोकेर चुनावमा आएको बताए ।
उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । घरदैलोका क्रममा मतदाता उत्साहित भएको बताउँदै उनले वृद्धवृद्धा, महिला र जेनजी युवाहरुबाट सकारात्मक प्रतिक्रिया आएको बताए ।
‘घरदैलो कार्यक्रममा म जहाँ पुगेँ त्यहाँ राजेन्द्र बुर्लाकोटीलाई भोट दिनुपर्छ भन्ने माहोल पाएँ’, उनले भने, ‘थुप्रै आमाबुबाहरुले शिरमा हात राखेर आर्शीवाद दिनुभएको छ ।
विगतमा गरेको समाजसेवा र मानवीय सेवाका कारण मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।’
घरदैलोमा किसान, युवा, संघसंस्था, शिक्षक र महिलाहरुले स्थानीयस्तरमा गर्नुपर्ने विकास, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका समस्या राखेका थिए ।
व्यक्तिगत आकाङ्क्षा र लोभ नभएका र पाँच दशकदेखि आफूले सकेको योगदान गर्दै आएका राजेन्द्रप्रसाद बुर्लाकोटीको पक्षमा खुलेरै मतदाता देखिएको बताउँदै निर्वाचन परिचालन मूलसमितिका संयोजक किरणभूषण सिंह ओलीले ‘लोकतन्त्र, विचार, सिद्धान्त र स्थानीयका मुद्दालाई राम्रोसँग बुझेका उमेदवार बुर्लाकोटीको पक्षमा जनलहर बढेको बताए ।
उनले भने, ‘जनता भोट हाल्न आतुर छन् । हाम्रा उमेदवार शालिन ढङ्गले प्रस्तुत हुनुभएको छ । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने मूल नाराका साथ एकताबद्ध भएर कांग्रेसका साथीभाइ लागेका छौँ । हामी सफल हुन्छौँ ।’








