रत्ननगर, माघ १८ । नेकपा (एमाले) का तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दावा दोर्जे लामाले आफ्नो उम्मेदवारीलाई लिएर फैलिएका भ्रमहरूको खण्डन गरेका छन् । केही सञ्चारमाध्यममा आफ्नो भनाइलाई गलत व्याख्या गरी एमालेले कांग्रेसलाई सघाउन लागेको भन्ने समाचार आएपछि उनले भ्रम फैलाइएको स्पष्ट पारेका हुन् ।
लामाले भने, ‘लोकतन्त्र र गणतन्त्र जोगाउन एमाले र कांग्रेस जस्ता ठूला दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने मेरो सैद्धान्तिक भनाइलाई बङ्ग्याएर केही मिडियामा एमाले उम्मेदवारले कांग्रेसलाई सहयोग गर्न लागेको भन्ने गलत प्रचार गरियो । मेरो उम्मेदवारीमा कुनै शंका नगर्न र यस्ता भ्रमहरू चिर्न म सबैमा आग्रह गर्दछु ।’
लामाले विगतमा अन्य दलहरू गठबन्धन गरेर चुनावमा होमिएको अवस्थामा पनि एमालेले एक्लै लडेर चुनाव जितेको स्मरण गराए । ‘एमाले एक्लै चुनावमा होमिएको छ र यो क्षेत्रमा हाम्रो जित निश्चित छ,’ लामाले थपे, ‘विपक्षीको घेराबन्दीका बीच पनि एमालेले एक्लै जित्ने सामर्थ्य राख्छ भन्ने कुरा यसपटकको परिणामले देखाउनेछ ।’
आफ्नो उम्मेदवारी अटल रहेको र चितवन क्षेत्र नम्बर १ का जनताको अपार माया र विश्वास आफूलाई प्राप्त भइरहेको दाबी गर्दै उनले कुनै पनि प्रकारका हल्लाको पछि नलाग्न मतदाताहरूलाई अपिल गरेका छन् ।








