रत्ननगर, साउन १३ । रत्ननगर वडा नं ६ सौराहा स्थित बछौली माविका विद्यार्थीहरुका लागि बाघ संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।
वाइल्डलाइफ भिक्टिम फन्टले विश्व बाघ दिवसको अबसरमा विद्यार्थी लक्षित सचेतनामुलक कार्यक्रम गरेको हो ।
बाघ जोगाउन समुदायलाई पुग्ने फाइदाको विषयमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्श्यले कार्यक्रम आयोजना गरिएको वाइल्डलाइफ भिक्टिम फन्टकी अध्यक्ष डोमा पौडेलले बताइन् ।
विद्यार्थी मार्फत बाघ संरक्षणको सन्देश समाजमा लैजादा प्रभावकारी हुने उनको भनाई छ ।
कार्यक्रममा अध्यक्ष पौडेलले नेपालमा बाघको अबस्था र संख्या, बाघको महत्व र संरक्षण गर्नुपर्ने कारण, बाघको बासस्थान र मान्छे र बाघ बीचको असमझदारीको कारण, बाघ जोगाउन समुदायले खेल्नु पर्ने भूमिकका विषयमा सहजीकरण गरेकी थिइन् ।
सो अबसरमा उनले मानिसको अस्थित्व जोगाउन बाघ संरक्षण गर्नुपर्ने बताइन् । उनले जैविक विविधताको संरक्षण र जलबायु परिर्वतनको असर कम गर्न समेत बाघको महत्व रहेको बताइन् ।
चितवन सफारी पर्यटनको हिसावले परिचित रहेको भन्दै अध्यक्ष पौडेलले पर्यापर्यटनको विकासको लागि निकुञ्जका वन्यजन्तु संरक्षण गर्नुपर्ने बताइन् ।
विश्व वन्यजन्तु कोषबाट अन्तराष्ट्रिय स्तरको संरक्षण पुरस्कार प्राप्त पौडेलले वन्यजन्तु जोगाउन समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने गरी वाइल्डलाइफ भिक्टिम फन्ट नामक संस्था स्थापना गरेर काम गरिरहेकी छन् ।
“म नेपालको पहिलो महिला नेचर गाइड हुँ उनले भनिन्, चितवनको पर्यटन प्रर्बद्धन गर्न वन्यजन्तु जोगाउनु पर्छ भनेर दिनरात काम गरिरहेकी छु ।”
कार्यक्रममा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी सचिव सरस्वती सेढाई, वाइल्डलाइफ भिक्टिम फन्टकी कोषाध्यक्ष रिता शर्मा, विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।







