कालिका नगरपालिका, चितवनले आर्थिक वर्ष २०८२/०८३ का प्रथम करदाताहरूलाई सम्मान गरेको छ। वडास्तरीय कार्यक्रम अन्तर्गत बिहीवार वडा नं. २ र ६ ले छुटाछुटै कार्यक्रम गरि व्यवसायिक कर तिर्ने वडा नं २ का ३ करदाता र ६ का १ गरि ४ जना करदातालाई दोसल्ला ओढाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख विमला तामाङ रहनुभएको थियो। प्रमुख अतिथि तामाङ र नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष लक्ष्मण पौडेलले संयुक्त रूपमा कवि किराना एण्ड खाजा घरका विकास कोईराला, दिलिशा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी लक्ष्मी देवकोटा, र निकेश कृषि फर्मका नारायण प्रसाद चालिसेलाई “उत्कृष्ट करदाता” स्टिकरसहित दोसल्ला ओढाई सम्मान गरेका हुन्।
त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले घर जग्गाकाे सम्पति कर तिर्ने धर्म दत्त शर्मालाई असल करदाताकाे स्टिकर प्रदान गरी दाेसल्लाले सम्मान गरेका हुन ।
कार्यक्रममा वडा सदस्यहरु, वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवाल, राजस्व उपशाखा प्रमुख नारायण प्रसाद अधिकारी, वडा सचिव सृजना पौडेल लगायतको उपस्थिति रहेको थियो।
नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न यस प्रकारको सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।







