मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी

Share:
394
डडेल्धुरा, ३१ असार । प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।
यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताउनुभयो ।
उहाँका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो ।
एकदशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाकाभरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।
“बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टीका पार्कीले भन्नुभयो, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताउनुभयो । “गाउँघरमा गोरुबाट गर्ने काममा ट्र्याक्टरको प्रयोगबाट हुन थाल्यो, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ । अब बाँस, निगालाबाट बुनेका सामग्री लोप भइसकेका छन्”, उहाँले भन्नुभयो । टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्चअनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उहाँहरूको गुनासो छ ।
सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।
युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारकोसमेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् । रासस
Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।