चितवन, २९ असार । नेपाली समाजको यथार्थ कथा समेटिएको नयाँ टेलीचलचित्र ‘सपना’ आगामी साउन ९ गते देखि “पी आचार्य” यु-ट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । रत्ननगरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरि टेलिचलचित्र सपनाको बारेमा जानकारी दिइएको हो । कार्यक्रममा श्रृंखलाका निर्माता, लेखक तथा निर्देशक पिताम्बर आचार्यले टेलिचलचित्रको उद्देश्य, कथावस्तु र सामाजिक सन्देशबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै निर्देशकले भने, “सपना केवल मनोरञ्जन मात्र होइन, यो नेपाली युवायुवतीको संघर्ष, परिवारको भावना र समाजको वास्तविकता बोल्ने कथा हो।”
श्रृंखलामा मुख्य भूमिकामा चर्चित कलाकारहरु पुष्प आचार्य, पिताम्बर आचार्य, लक्ष्मण नेपाल, प्रेम गुप्ता, सुरेश चौधरी लगायतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादनको जिम्बेवारी आभास रानाले निर्वाह गरेका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मी, कलाकार, प्राविधिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरूले सिरियलप्रति चासो र उत्सुकता व्यक्त गरे। कार्यक्रममा सिरियलको ट्रेलर पनि प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूमा भावनात्मक झल्को र सामाजिक यथार्थको आभास गराएको थियो। ‘सपना’ टेली सिरियलले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ।








