दीगो शहरी पूर्वाधार, नियमति सडक मर्मत सम्भार र अधुरा योजनाहरूलाई निरन्तरता, कृषि तथा पशु विकास कार्यक्रम, शिक्षा विकास, युवा तथा खेलकुद तथा स्वास्थ्य सेवा, वातावरण, सरसफाई, हरियाली र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको महानगर उपप्रमुख अधिकारीले बताउनुभयो ।
महानगरले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आउँदो आर्थिक वर्षभित्रमा सम्पन्न गर्नका लागि ४ करोड बजेट विनियोजन गरेको छ । यस्तै रंगशाला रहेको जग्गाको लिज भुक्तानी गर्न कृषि तथा वनविज्ञान विश्वविद्यालयका लागि समेत बजेट विनियोजन गरेको छ ।
नगरसभामा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । महानगरले समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखेको छ ।
पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै हरियाली प्रर्वधन र सुरक्षित महानगरका रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरूयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको महानगर प्रमुख दाहालले बताउनुभयो ।
हरियाली महानगरपालिका कार्यक्रमको लागि महानगरको आफ्नै नर्सरीबाट उत्पादित विभिन्न जातका फलफूलका विरूवाहरू रोपिनुका साथै बिक्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।








