रत्ननगर, असार ३ । चितवनको कालिका नगरपालिकामा पशुपालक किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरिएकोछ ।
८० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो । दुध उत्पादन गर्ने कृषकहरुको उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले पशुसेवा शाखा मार्फत पशु पालक किसानलाई घाँसकाट्ने मेसिन (च्याफकटर), पशुपक्षीको दाना बनाउने मेसिन, ठेलागाडा र काउम्याट वितरण गरेको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को रु १० लाख ८० हजारको बजेट मार्फत ८ जना पशु पालक किसानलाई ८० प्रतिशत अनुदानमा च्याफकटर, ८ जनालाई पशुपक्षीको दाना बनाउने मेसिन, १६ जनालाई ठेलागाडा र ७० प्रतिशत अनुदानमा ४४ जना किसानलाई २/२ वटा काउम्याट वितरण गरिएको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख पशुचिकित्सक डा.राजु प्रसाद न्यौपानेले जानकारी दिए ।
पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी र उप प्रमुख बिमला तामाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख विनोद रेग्मीले अनुदानमा पशु किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेसंगै व्यवसाय गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उनले भने, “किसानलाई सतप्रतिशत अनुदानमा कृषि उपकरण बितरण गर्न मन थियो तर सतप्रतिशत अनुदानमा पाएको सामाग्रीको जतन किसानहरुले नगर्ने भएकाले २० प्रतिशत रकम लिएर भएपनि अनुदान दिएका हौं । किसानहरुले २० प्रतिशत रकम तिरेपछि सर सामानको जतन पक्कै गर्छन् भन्ने आशाछ ।”
आर्थिक विकास समितिका संयोजक दिपक सिंह परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, उप प्रमुख बिमला तामाङ, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ७ का वडा अध्यक्ष कमलराज मुक्तान, पशु विकास अधिकृत ईश्वरी प्रसाद पौडेल, पशु शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।








