चितवन, मंसिर ७ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ८ गते समिक्षा अधिकारी र रेनु राना मगरको प्रस्तुती रहने भएको छ ।
महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक प्रस्तुति समेत भइरहेका छन् ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि दोस्रो नारायणी महोत्सव २०८३ सञ्चालन भइरहेको छ । महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ । महोत्सवमा विभिन्न किसिमका स्टलहरुका साथै बाल उद्यान, जिरो ग्र्याभिटि राइड, ३६० डिग्रि राइड र पिरामिड गेटले आगन्तुकको ध्यान तानेको छ ।
आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सिमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रुपमा लिएको जनाएको छ । बाढीका कारण कुरुप र विजोक अवस्थामा पुगेको नारायणी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सुरु गरेको हो ।
महोत्सवमा साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० रहेको छ । कुनैकुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । उक्त विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० रहेको छ । कहिलेकाहिँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने रु. १०० र ८० कै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् । आज साँझ कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट रहनेछ ।
महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।








