रत्ननगर, असार १ । रत्ननगर नगरपालिकाले ‘उज्यालो रत्ननगर अभियान’अन्तर्गत मुख्य राजमार्ग र बजार क्षेत्रलाई आकर्षक र सुरक्षित बनाउन आधुनिक सडक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ। हाल मुख्य बजार क्षेत्रमा हाइ-मास्ट र स्ट्रिट लाइट जडानको काम द्रुत गतिमा भइरहेको छ। यो परियोजनाले रातको समयमा सडक सुरक्षा र सौन्दर्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
नगरप्रमुख प्रलाद सापकोटाले यो अभियानमार्फत नगरवासीलाई उज्यालो र सुरक्षित वातावरण प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न लागिएको बताए। ‘हामीले रत्ननगरलाई सुरक्षित र सुन्दर बनाउने वाचा गरेका थियौँ। सोहीअनुसार बत्ती जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ,’ उनले भने। यो परियोजना रत्ननगरको विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुने उनको विश्वास छ।
नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार, निपनी चोक, बकुलहर चोक, सौराहा चोक र टाँडी चोकमा १६ मिटर उचाइका चार हाइ-मास्ट लाइट जडान गरिनेछ। यस्तै, बकुलहर चोकदेखि टाँडी चोकसम्मको सडक डिभाइडरमा ७२ वटा आधुनिक स्ट्रिट लाइट र शान्ति चोक, जयमंगला चोक, दोबाटो चोक र गैंडाचोकमा १० मिटर उचाइका मिनी-मास्ट लाइट जडान हुने छन्। ‘यी बत्तीहरूले चोक र आसपासका क्षेत्रलाई उज्यालो बनाउनुका साथै रातको समयमा आवतजावतलाई सुरक्षित र सहज बनाउनेछन्,’ गिरीले भने।
परियोजनाको कुल लागत २ करोड ८६ लाख १८ हजार १७५ रुपैयाँ रहेको गिरीले बताए। निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गरी आगामी दुई महिनामा सबै बत्ती सञ्चालनमा ल्याउने लक्ष्य छ। ‘हामीले रत्ननगरका सडकलाई उज्यालो बनाउने कार्य समयमै पूरा गर्नेछौँ,’ उनले थपे।
यो परियोजनाले रत्ननगरको सौन्दर्य वृद्धि गर्नुका साथै रातको समयमा सडक दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







