रत्ननगर, जेठ २८ । केही दिनयता अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि चितवनको कालिका नगरपालिकाका विद्यालयमा गर्मी बिदा दिइएको छ ।
अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगर अन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार यो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी यही जेठ २९ र ३० गते दुई दिन सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले सम्पूर्ण विद्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।

शिक्षा युवा तथा खेलकुद शाखाकी शाखा अधिकृत चन्द्रा देवी शर्माका अनुसार अनुसार आज २८ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो ।
अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।








