रत्ननगर, जेष्ठ २२ । विश्व वातावरण दिवस २०२५ को अवसरमा रत्ननगर नगरपालिकाले “सिमसार क्षेत्रः महत्व, अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
रत्ननगर सभाहलमा आयोजित उक्त कार्यक्रम रत्ननगर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित थियो।
कार्यक्रमको अध्यक्षता रत्ननगर नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. १२ का वडा अध्यक्ष सुन्दरमणी सुवेदीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको उपस्थिति रहेको थियो। कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य राम रिमाल, ग्रीन आर्मी नेपाल चितवनका अध्यक्ष जनार्दन ढकाल, ब्लड डोनर सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपाल, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी कोषाध्यक्ष सरस्वती लामा, बर्ड एजुकेसन सोसाइटी रत्ननगरका अध्यक्ष बिजय गिरी, र सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक निर्णय पौडेल लगायतको आतिथ्य रहेको थियो।
कार्यक्रममा सिमसार क्षेत्रको महत्व, संरक्षण, र यसले सामना गर्नुपरेका चुनौतीहरूबारे गहन छलफल गरियो। राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका रेन्जर ऋषिराम सुवेदीले सिमसार क्षेत्रको महत्व र संरक्षणका उपायहरूबारे प्रशिक्षण दिनुभयो। त्यस्तै, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण (CBAPU) का अध्यक्ष बसन्त राना मगरले बिषादी र रासायनिक मलको प्रयोगले नदी र सिमसार क्षेत्रमा पर्ने नकारात्मक असरबारे प्रकाश पार्नुभयो। वाईल्ड लाइफ भिक्टिमकी अध्यक्ष डोमा पौडेलले प्लास्टिक प्रदूषण न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण दिनुभयो।
कार्यक्रममा रत्ननगर नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयका वातावरण विषयका शिक्षकहरू र प्रत्येक विद्यालयबाट ५ जना विद्यार्थीहरू सहित १०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सिमसार क्षेत्रको संरक्षण, वातावरण संरक्षण, र दिगो विकासका लागि सामुदायिक प्रयासको महत्वबारे छलफल गरे। आयोजकको सन्देश रत्ननगर नगरपालिकाले “पर्यटकीय शहर, समुन्नत रत्ननगर” को नारालाई आत्मसात् गर्दै वातावरण संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनमा जोड दिएको छ।
कार्यक्रमको सञ्चालन रत्ननगर नगरपालिकाको वन, वातावरण तथा विपद् शाखा प्रमुख बिश्वास श्रेष्ठले गर्नुभएको हो ।
यो कार्यक्रमले सिमसार क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि स्थानीय समुदाय, विद्यार्थी, र सरोकारवालाहरूलाई प्रेरित गरेको छ। रत्ननगर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू मार्फत वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।








