रत्ननगर, जेठ १३ । चितवनको भरतपुरमा मंगलबार खाद्य बालीमा विषादीको प्रयोग न्यूनीकरणको लागि अन्तरसंवाद कार्यक्रम गरिएको छ ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानद्वारा सञ्चालित कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना अन्तर्गत विषादी न्यूनीकरण र सुरक्षित प्रयोग सम्बन्धी नीतिगत संवाद कार्यक्रम गरिएको हो ।
कार्यक्रममा चितवन जिल्लामा विषादी न्यूनीकरण र नियन्त्रणमा गरिएका प्रयास, विषादीको प्रयोगमा मानव स्वास्थ्य र जैविक विविधतामा पारेको असर बारेमा छलफल तथा सामधानका उपायहरुको नीतिगत व्यवस्थाको विषयमा संवाद गरिएको थियो ।
कार्यक्रममा परियोजना प्रबन्धक सिर्जना भट्टराईले विषादीको जोखिम न्यूनीकरणमा भएका प्रयास र उपलब्धि, समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष वसन्त रानाले विषादी प्रयोगको अबस्था त्यसले जैविक विविधता र मानव स्वास्थ्यमा पारेको असरका बारेमा सहजीकरण गरेका थिए ।
सो अबसरमा अध्यक्ष रानाले विषादी प्रयोग न्यूनीकरणको लागि सचेतनामुलक कार्यक्रमसंगै विषादीको विकल्पका कार्यक्रम गरिदै आएको बताए ।

कार्यक्रममा माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद उपाध्यायले व्यवहारिक विकल्प नदिए सम्म विषादी नियन्त्रण गर्न चुनौति रहेको बताए ।
सामुहिक संकल्पले मात्र विषादी न्यूनीकरण र नियन्त्रण सम्भव रहेको भन्दै उनले विषादी नियन्त्रणको लागि पालिकाको स्पष्ट नीति नरहेको बताए ।
माडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरेले विषादीको प्रयोगले मानव स्वास्थ्यमा पारेको असर र विषादी प्रयोगको अबस्थाको बारेमा सहजीकरण गरेका थिए ।
उनले खाद्यवालीमा विषादीको प्रयोगकै कारण क्यान्सर रोगका विरामीहरु दिनप्रतिदिन बढ्दै गएको बताए ।
कार्यक्रममा सिद्धिविनायक आवासीय माविका शिक्षक साजन मगरले विषादी न्यूनीकरणमा विद्यालय र शिक्षकको भूमिकाको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख प्रविन लामाले सरकारले रासायनिक मलमा दिएजस्तो प्राङ्गारिक मलमा पनि अनुदान दिनुपर्ने बताए ।

अनुदान र विकल्प दिनसके मात्र प्राङ्गारिक खेती तर्फ किसानलाई आकर्षण गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा प्रतिष्ठानसंग जोडिएर नेपालमा विषादी न्यूनीकरणमा काम गरिरहेका दुई विदेशी नागरिक डा.ओल कार्टेन्स र ऐनी ओलेरिक लगायतले मन्तव्य राखेका थिए ।








