रत्ननगर,बैशाख १ । रत्ननगरको व्यस्त बजार सौराहाचोकमा नयाँ वर्ष २०८३ को अवसरमा एक आकर्षक रेस्टुरेन्ट ‘द भाइब्स कार्ड’ रेष्ट्रो सञ्चालनमा आएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले मंगलबार औपचारिक रूपमा उद्घाटन गर्नुभएको यस रेष्ट्रो पूर्वी चितवनका चार जना युवाहरूको संयुक्त प्रयासबाट तयार भएको हो । रमेश महतो, किरण लामा, अनुप विसुराल र दीपक महतोको संयुक्त लगानीमा सञ्चालनमा आएको यस रेष्ट्रोमा कुल ६० लाखभन्दा बढीको लगानी भएको संचालक किरण लामाले बताए ।
‘एकैपटकमा १२० जना भन्दा बढी पाहुनालाई आरामदायी सेवा दिन सकिने क्षमता रहेको छ,’ लामाले भने । मुख्य राजमार्गको छेउमा रहेको यस रेष्ट्रोले पारिवारिक वातावरण, शान्त र आकर्षक दृष्य सहित सेवा प्रदान गर्ने बताउँदै अर्का संचालक रमेश महतोले थपे, ‘यहाँ आएर गुणस्तरीय कफी र स्वादिष्ट खानाको मजा लिन सकिन्छ ।’
रेष्ट्रोमा कफीका विभिन्न प्रकारका आइटमका साथै पिज्जा, बर्गर, स्यान्डविच, मःम, चाउमिन, चिकेनका विभिन्न परिकार तथा अन्य खानेकुराहरू सुपथ मूल्यमा उपलब्ध हुने महतोले बताए । मुख्य राजमार्ग नजिकैको सुविधाजनक स्थान र पारिवारिक वातावरणले गर्दा यो रेष्ट्रो खानाका पारखीहरुका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा संचालकको छ ।
उद्घाटन समारोहमा बोल्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले व्यवसायको उत्तरोत्तर सफलताको कामना गर्दै भने, ‘मुख्य राजमार्गमा यस्तो पारिवारिक र शान्त वातावरण भएको रेष्ट्रोको निकै अभाव थियो । द भाइब्स कार्ड रेष्ट्रोले यो अभाव पूरा गर्नेमा म पूर्ण विश्वस्त छु ।’
चार युवा उद्यमीहरूको यो संयुक्त प्रयासले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै चितवनको पर्यटन तथा व्यवसायिक क्षेत्रलाई मद्दत गर्ने छ । नयाँ वर्षको सुरुवातसँगै ‘द भाइब्स कार्ड’ रेष्ट्रोले स्थानीय तथा बाहिरी पाहुनाहरूलाई स्वागत गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।








