चितवन, असार २१ । चितवन जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
जिल्लाका सात पालिका घोषणा भएसँगै चितवन जिल्लालाई शनिबार पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति चितवनले शनिबार जिल्लास्तरीय कार्यक्रम गरी पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जिल्लाको खोपको सम्पूर्ण अवस्थाको चित्रण गरेका थिए ।
‘पहिला वडाहरुलाई पूर्ण खोप सुनिश्चितता गरियो, त्यसपछि पालिकाहरु घोषणा भए । अहिले चितवन जिल्लालाई घोषणा गर्न सफल भइयो’ प्रमुख रुपाखेतीले भने । उनका अनुसार गत वर्ष पनि जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
घोषणा कार्यक्रममा चितवनका सातै पालिकाबाट नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका प्रतिनिधिहरु उपस्थित भएका थिए । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।








