चितवन, माघ २४ । चितवनको कालिका नगरपालिकाले सासू बुहारीको सम्बन्ध सुधार गर्ने उद्देश्यले कालिका वडा नं. १ मा दुई दिने सासू बुहारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोछ ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाले गरेको उक्त कार्यक्रममा सासू र बुहारी गरि ५५ जना सहभागी भएका थिए ।
समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै नगर उपप्रमुख विमला तामाङले सासूको लागि बुहारी छोरी सरह र बुहारीको लागि सासू आमा सरह रहेकाले सासू र बुहारी मिलेमा घर सुन्दर र सुखि हुने बताउनुभयो ।
उहाले भन्नुभयो, “सासू र बुहारी भनेको नङ र मासुको जस्तै सम्बन्ध हो, दुबै जना मिलेर बसेमा परिवारमा कलह कहिल्यै हुँदैन । एक अर्काको सम्मान गरौ, सभ्य समाज निर्माणमा जुटौ ।”
घरमा द्वन्द गर्ने ससुरा बुहारी नभईकन सासू र बुहारी भएको उहाको भनाईछ । महिला– महिलामा द्वन्द भएका कारण घर परिवारमा कलह भई कतिपयको परिवार फुटको संघारमा पुग्ने गरेको बताउनुभयो । बाहिरी रूपमा समाजमा सासू र बुहारी मिलेर बसेको देखिएता पनि उहाँहरूको परिपारमा सधै कलह भईरहेको हुनाले यो सासू– बुहारी अन्तक्र्रिया कार्यक्रम वडामा लिएर आएको उपप्रमुख तामाङले बताउनुभयो ।
समाजमा सासू बुहारीलाई हेर्ने दृष्टिकोण, सासू र बुहारीको सम्बन्धलाई सुधार गर्नका लागि कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिनुभयो । नगरपालिकाले प्रत्येक वडामा सासु र बुहारीलाई सँगै राखेर अन्तक्र्रिया गर्ने लक्ष्य रहेको र यसअघि वडा नं ८, ६, २ र १ मा सासू र बुहारीबीच अन्तक्र्रिया सम्पन्न भएको उहाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सासू बुहारीबीचको सम्बन्ध सधै सुमधुर बनाउने र परिवार राम्रो बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । सासू बुहारीलाई सँगै राखेर सासूको भावना बुहारीको भावना, सासू र बुहारीले गर्नुपर्ने कर्तव्य के हो भनेर हामीले उहाँहरुको बीचमा समन्वय गरेका हौँ ।’
सासू र बुहारीमा भएको सोचमा परिवर्तन र सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको ढकालको भनाई छ ।
कालिका वडा नं. १ का वडा अध्यक्ष स्याङदानको अध्यक्षतामा सम्पन्न भएको वडा सदस्य जीवन लामा, सरस्वती खत्री, लक्ष्मी परियार लगाएतको सहभागिता रहेको थियो ।








