आइत, भदौ ७, २०८३
Search
आइत, भदौ ७, २०८३

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

Share:
10

भदाै १ । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाआजा गर्ने परम्परा छ ।

यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ एवं चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीको सन्तुलन मिलाउन र नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा पूजिन्छ । यस्तै, प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको हातमा नाग रहेको छ भने रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागकै अवतार मानिन्छ । भगवान् बुद्धको मूर्तिको शिरमा र जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट रहने गरेको छ ।

नागपञ्चमीका विषयमा विभिन्न किंवदन्तीहरू पनि प्रचलित छन् । एक किसानले खेत खन्दा नागका तीन बच्चा मारिएपछि नागिनीले किसानको परिवार नै सखाप पारेकी थिइन् । तर, किसानकी छोरीले नागिनीको शोडषोपचारले पूजा आराधना गरी दूध दिएर प्रसन्न पारिन् । नागिनीले प्रसन्न भई मागेको वरदानअनुसार किसानका मृत परिवारलाई जीवनदान दिएकी थिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी नै भएकाले त्यसै समयदेखि नाग पूजा गर्ने परम्परा बसेको कथन छ ।

वैज्ञानिक रूपमा पनि प्रकृतिमा रहेका विषालु पदार्थलाई नाग र सर्पलगायतका जीवले शोषण गरी वातावरण स्वच्छ राख्ने भएकाले ऋषिमुनिहरूले नागजातिको पूजाआजा गर्ने रीत बसालेको मानिन्छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानहरूमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । नागपञ्चमीसँगै सनातन धर्मावलम्बीहरूका चाडबाडको याम सुरु भएको मानिन्छ ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।