जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् । टोलीले शनिबार यो घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय तथा फ्रान्चाइजी क्रिकेटमा लामो अनुभव भएका राजा एक प्रभावशाली अलराउन्डरका रूपमा चिनिन्छन् । ब्याटिङ र बलिङ दुवै माध्यमबाट खेलको नतिजा बदल्न सक्ने क्षमता राख्ने उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उच्चस्तरीय क्रिकेट खेल्नुका साथै विश्वका प्रमुख टी–२० लिगहरूमा पनि सहभागिता जनाइसकेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राजाले १३३ खेलमा ३ हजार ८९ रन र १०७ विकेट लिएका छन् । ३ हजारभन्दा बढी रन र १ सयभन्दा बढी विकेट दुवै पूरा गर्ने पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका दुई खेलाडीमध्ये उनी एक हुन् ।
उनको ब्याटिङ औसत २६.६२ र स्ट्राइक रेट १३६.९२ छ भने बलिङमा औसत २३.५४ र इकोनोमी ६.८८ रहेको छ।
यसअघि सन् २०२१ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सबाट नेपालमा खेलिसकेका राजाको आगमनले चितवन राइनोजको अन्तर्राष्ट्रिय खेलाडी लाइन अप थप बलियो बनाएको छ।







