रत्ननगर, पुस २५ । रत्ननगरस्थित टिकौली चौरमा आज शुक्रबारबाट रत्ननगर महोत्सवको १३औँ संस्करण सुरू हुँदैछ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नेछन् ।
पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुने १३औँ महोत्सव उद्घाटनपूर्व रत्ननगरमा शोभायात्रा निकालिने छ । नेपाल माविको खेल मैदानबाट सुरू हुने शोभायात्रामा १२५ वटा संघसंस्था सहभागी हुनेछन् । आयोजक संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
रत्ननगर महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । महको उत्पादन र प्रवद्र्धनका लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानले उत्पादन गरेको महको मह¤व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको कृषि प्रवद्र्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।
महोत्सवमा रामजानकी मन्दिर आकृतिको गेट निर्माण, जनजाति समुदायको सुन्दर गाउँ, रोजगार मेला आकर्षक हुने महोत्सव मूल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष शंकर गिरीले बताए । महोत्सवले समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।
महोत्सवअन्तर्गत भजन, शङ्खध्वनि, महिला कबड्डी तथा अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने छ । बाल उद्यानमा जलपरीसँगै बालबालिकालाई लक्षित गरी काश्मीर भ्याली निर्माण गरिँदै छ । पर्यटन प्रवद्र्धनतर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जिप सफारी सञ्चालन गरिने छ । करिब ५०० स्टल रहने यस महोत्सवमा रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।
महोत्सवअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ गरिने संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए । हरेक दुई वर्षमा आयोजना हुने यस महोत्सवमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने प्रक्षेपण गरिएको छ ।








