चितवन, १७ पुस । १३औं राष्ट्रिय पोल्ट्री दिवस भरतपुरमा आज बाजागाजा सहित प्रभातफेरी गरेर मनाईएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा नेपाल सरकारका प्रतिनिधि, पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संस्था र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा पञ्चेबाजा, थारु झाँकी सहित प्रभातफेरी गरेर दिवस मनाईएको हो ।
नेपालमा आधुनिक कुखुरा पालन शुरु भएको दिन पुस १७ गते पोल्ट्री व्यवसायीहरुले नेपाल सरकारका सरोकारवाला निकायसँग सहकार्य गरेर दिवस मनाउने गर्दछन् । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार उद्योग संघ परिसरबाट बाजागाजा, प्लेकार्ड र झाकी सहितको प्रभातफेरी निकालिएको हो । प्रभातफेरी चौबीसकोठी, हाकिमचोक, स्याउली बजार हुँदै पुनः चितवन औद्योगिक प्रदर्शनी परिसरमा जम्मा भई समापन गरिएको थियो ।

प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. रेवन्त भट्टराई, अनिल तिवारी सहित विद्यार्थीहरु सहभागी रहेका थिए । त्यसैगरी जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रबद्र्धन शाखाका प्रमुख डा. शैलेन्द्र भण्डारी सहित विभिन्न सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटा, नेपाल लेयर्स कुखुरा पालक संघका उपाध्यक्ष अमोद खनाल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष विरबहादुर गुरुङ लगायत पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले जानकारी दिनुभयो ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष कृष्णहरि लोहनी, रामकुमार चौहान, सचिव डा विष्णुहरी पोखरेल, कोषाध्यक्ष हरिकृष्ण खनाल लगायत मञ्चका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । प्रभातफेरीमा जिल्ला, प्रदेश र केन्द्रका पोल्ट्रीसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष भट्टले अहिलेको अवस्थामा पोल्ट्री क्षेत्र चरम संकटमा रहेको भन्दै सरकारले किसानका मागलाई सम्बोधन गरेर यस क्षेत्रलाई आत्मनिर्भर बनाईराख्न आग्रह गर्नुभयो । उहाँले पोल्ट्री क्षेत्रका संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी पोल्ट्री विकास बोर्ड गठन गर्न, पोल्ट्रीजन्य उत्पादनका लागि विदेशबाट आयात गरिने कच्चा पदार्थमा लाग्दै आएको कृषि सुधार शुल्क र भन्सार महसुस छुट गर्न माग गर्नुभयो ।
यसैगरी पोल्ट्री क्षेत्रको प्रमुख चुनौतीको रुपमा रहेको अवैध रुपमा आयात हुने चल्ला, कुखुरा, मासु र अण्डा नियन्त्रण गर्न, रोगको प्रकृति अनुसारको भ्याक्सिनको आयातको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो । चितवनलाई पोल्ट्रीको राजधानी भनिन्छ । हरेक वर्षजसो पोल्ट्री दिवस यहाँ मनाउने गरिन्छ ।









