रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १९औं चितवन हात्ती तथा पर्यटन महोत्सवले स्वदेश तथा विदेशी पर्यटकको आर्कषण बढाएको छ ।
क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको सो महोत्सवको दोस्रो दिन शनिबारमात्र पाँच हजारले अबलोकन गरेका छन् । महोत्सवको प्रभावका कारण सौराहाका होटलहरु भरिएका छन् ।
महोत्सव अन्तर्गत गरिएको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पुनमकलीले जितेकी छन् । प्रतिस्पर्धी सेल्फीकली,चम्पाकली,पुजाकली र समृद्धिकलीलाई पछिपार्दै ४० बर्षकी पुनमकलीले हात्ती सुन्दरीको तान पहिरिएकी हुन् । होटल श्रीनगर पाल्पाको प्रतिनिधित्व गर्दै होटल पार्क साइडको पुनमकलीले उपाधि जिताएकी हुन् ।
हात्तीको श्रृगार र सजावट, गोडाको नङ, आँखाको चमक, कान र सुढको सरसफाईको अबस्था, माउतेले हत्तीयार प्रयोग गरे नगरेको, हात्तीको साझोपना तथा चालको आधार, फूर्तिलोपना र आदेश पालना र हात्तीको शारिरीक बनावटलाई आधार बनाएर सुन्दरी छान्ने गरिएको निर्णायक समितिका संयोजक नगेन्द्र चापागाईँले बताए ।
महोत्सव अन्तर्गत सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हात्तीको स्वास्थ्य परीक्षण गरी जुकाको औषधि खुवाउनुको साथै नङको सतह समेत मिलाइएको पशुचिकित्सक डा।अमिर सडौलाले जानकारी दिए ।
महोत्सव अन्तर्गतनै शनिबारनै राप्ती नदीमा डुंगा रेस प्रतियोगिता गरिएको छ । सौराहाको डुंगाघाट देखि गाईघाट सम्म ५ किलोमिटरको दुरीमा गरिएको उक्त प्रतियोगितामा कुमरोज मध्यवर्ती सामुदायिक वन प्रथम, रत्ननगर नगरपालिका द्धितीय र बाघमारा मध्यवर्ती सामुदायिक वन तृतीय भएका छन् ।
प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । यसैबीच तीन बर्ष अघिदेखि रोकिएको हात्तीपोलो सुरु गरिएको छ । सौराहा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुको मागलाई ध्यानमा राखी हात्तीपोलो सुरु गरिएको महोत्सवका संयोजक गुणराज थपलियाले जानकारी दिए ।








