सौराहा, पुस ११ । चितवनको सौराहमा आज शुक्रबार देखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ ।
क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुने महोत्सवकाे मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गर्नेछन् ।
सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक बर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ ।
रत्ननगर नगरपालिका संरक्षक र यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. को सह–आयोजक रहेको सो महोत्सवको सम्पूर्ण तयारी पूरा भएकाे संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए ।
महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्या बारे जानकारी तथा हात्तीको पुजा गर्ने कार्यक्रम तय गरिएको संघका महासचिव महेश खनालले जानकारी दिए ।
उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी हुने छन् । महोत्सव अन्तर्गत पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता तथा करीब ७० वटा हात्तीहरु द्वारा शोभा यात्रा निकालिने छ ।
साथै विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रबद्र्धनको लागि अतिथि पाहुनाहरुलाई हात्ती सफारी/जीप सफारी/डुङ्गा सफारी गराउने कार्यक्रम तय गरिएको छ ।
सौराहामा दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको संघका अध्यक्ष ओमप्रकास पाण्डेले बताए ।
सौराहामा १५० होटल र ९० बढी रेष्टुरेन्टहरु रहेका छन् ।
सफारी पर्यटनका हिसाबले सौराहा विदेशी पर्यटकको गन्तव्य स्थल हो । चितवनमा बार्षिक तीन लाख हजार पर्यटक आउने गरेका छन् ।
चितवन आउने मध्ये ९० प्रतिशत पर्यटक सौराहा पुगेर सफारीमा रमाउने गरेका छन् ।







