सौराहा, पुस ७ । सौराहमा यही पौष ११ गतेबाट सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
क्षेत्रीय होटल संघ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक बर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ ।
रत्ननगर नगरपालिका संरक्षक र यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. को सह–आयोजक रहेको सो महोत्सवको आन्तरिक तथा खेलमैदान व्यवस्थापन र स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए ।
महोत्सवका लागि बाघमारा चौर व्यवस्थापन र स्टल निर्माणको काम तीब्र गतिमा चलिरहेका बेला हात्तीहरु भने पेनाल्टी सुटआउटको अभ्यास गरिरहेका छन् । हात्तीले अभ्यासमा गरिरहेको दृश्य हेर्न सौराहा आएका पर्यटक त्यहा पुग्ने गरेका छन् ।
हात्ती महोत्सव सुरु नहुँदै सौराहामा आन्तरिक तथा बाह्य पर्यटक बृद्धि हुन थालेको संघका अध्यक्ष ओमप्रकास पाण्डेले बताए ।
होटलहरुमा धमाधम बुकिङ आउन सुुरु भइसकेको छ उनले भने, ‘महोत्सवकै अबसरमा सौराहामा पर्यटकका लागि १० प्रतिशत छुटको व्यवस्था गरेका छौं’ ।
महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नेछन् । महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्या बारे जानकारी तथा हात्तीको पुजा गर्ने कार्यक्रम तय गरिएको संघका महासचिव महेश खनालले जानकारी दिए । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी हुने छन् ।
महोत्सव अन्तर्गत पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता तथा करीब ७० वटा हात्तीहरु द्वारा शोभा यात्रा निकालिने छ । साथै विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रबद्र्धनको लागि अतिथि पाहुनाहरुलाई हात्ती सफारी÷जीप सफारी÷डुङ्गा सफारी गराउने कार्यक्रम तय गरिएको छ ।
सौराहामा दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको संघका अध्यक्ष पाण्डेले बताए । सौराहामा १५० होटल र ९० बढी रेष्टुरेन्टहरु रहेका छन् । सफारी पर्यटनका हिसाबले सौराहा विदेशी पर्यटकको गन्तव्य स्थल हो । तर पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमनमा कमी आएको छ ।
देशको विग्रदो परिस्थितिका कारण सौराहाका कतिपय होटल खाली हुने गरेका छन महासचिव खनालले भने पर्यटकीय गतिविधि गर्दा पर्यटक आगमनमा बृद्धि हुने गरेको छ । चितवनमा बार्षिक तीन लाख हजार पर्यटक आउने गरेका छन् ।
चितवन आउने मध्ये ९० प्रतिशत पर्यटक सौराहा पुगेर सफारीमा रमाउने गरेका छन् ।







