रत्ननगर, मंसिर ७ । पूर्वी चितवन स्थित रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार गरिएको छ । चार महिनाको अबधिमा रत्ननगरमा भएका कार्यसम्पादन, मुल्याङ्कन, सुसासन तथा सेवा प्रबाहका विषयमा नगरबासीहरुको सुझाबका आधारमा भावि योजना निर्माणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
मेयर प्रलाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नगरपालिकाबाट चार महिनाको अबधिमा भएको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अबसरमा उनले जेनजी प्रर्दशनकारीको तोडफोड र आगजनीबाट ध्वस्त भएको नगरपालिकाको दुईवटा प्रशासनिक भवन र १६ वटा वडा कार्यालयको पुनर्निमाणका लागि विशेष नगर सभा आह्वान गरी पुनर्निमाण तथा व्यवस्थापन कोष निर्माण गरिएको बताए ।
उनले नगरपालिकाले प्रशासनिक र वडा कार्यालय भवनको पुनर्निमार्णको काम थालनी गरिसकेको बताए । आर्थिक बर्ष २०८२/८३ का लागि नगरपालिकाले १ अर्ब ४२ करोड रुपैया विनियोजन गरेको थियो । कुल बजेट मध्ये चालु खर्च तर्फ ८७ करोड र पूजिँगत तर्फ ५५ करोड रुपैया विनियोजित गरिएकोमा विशेष नगर सभाले चालु खर्च तर्फ रहेको पाँच करोड रुपैया पूजिगत खर्चमा सारेर पुनर्निमाणको काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।
चालु आर्थिक बर्षको चार महिनामा साना ठुला गरी ६० वटा योजना निर्माणको लागि २४ करोडको ठेक्का भएको र ११ करोडको योजनामा सम्झौता समेत भइसकेको उनले जानकारी दिए ।
नगरबासीहरुले गौरव तथा ठुला योजना योजना अगाडि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् ।
सार्वजनिक सुनुवाईमा नगरबासीहरुले कृष्णसार स्थानान्तरण, वाटर किङ्डम, हरियाली पार्क, सरसफाई, लागुऔषध दुव्र्यशनी नियन्त्रण, विद्युत आपूर्ति, फुटपाथ व्यवस्थापन, स्वास्थ्य सेवा, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण र शिक्षा र स्वास्थ्यमा प्रश्न, गुनासो र सुझाब दिएका थिए ।
कार्यक्रममा उद्यमशिल महिला समुहकी अध्यक्ष गीता सिंखडा, पत्रकार तथा लेखक फडीन्द्र प्रसाद लामिछाने, सामुदायिक सडक सुरक्षा मञ्चका अध्यक्ष चन्द्रकान्त ओझा, अगुवा युवा दीपक थापा, रत्ननगर खानेपानी ३ नम्बर वडा समितिका संयोजक शम्भूभक्त थपलिया, नेता रुद्र गुरुङ, सौराहाका व्यवसायी गोकर्ण गिरी, टोल विकास संस्थाका अध्यक्षहरु अम्विका पुरी, लक्ष्मीधर शर्मा, लक्ष्मी पौडेल, बेदप्रसाद पाण्डे, युवाहरु किरण श्रेष्ठ, दीपक पुरी, चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आशाराम महतो लगायतले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विकास निर्माण, सुसासन तथा लागुऔषधि दुव्र्यशनी नियन्त्रणमा केन्द्रीत प्रश्न, गुनासो र सुझाब पेश गरेका थिए ।
नगरवासीको प्रश्नको जवाफ दिँदै मेयर सापकोटाले रत्ननगरलाई विकासको हिसावले उचाईमा लैजाने गरी काम गरेको भन्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले लक्ष्यसम्म पुग्न मुश्किलन हुने देखिएको बताए ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको भन्दै रत्ननगर सहित पूर्वी चितवनका चारवटै पालिकाका अति विपन्नको उपचारको लागि बकुलहर रत्ननगर अस्पताल र भरतपुर सरकारी अस्पतालमा मेडिकल कोष स्थापना गरेको बताए ।
पैसा नभएर कोही पनि उपचार र शिक्षाबाट बन्चित हुनु पर्दैन उनले भने उपचार गर्न नसक्नेको उपचार र आर्थिक अभाव भएर पढ्न नसकेकालाई स्थानीय सरकारले शिक्षा प्रदान गर्छ ।
उपमेयर यादव प्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा दिने विषय स्थानीय सरकारको क्षेत्राधिकार भित्र नपर्ने बताए । रत्ननगरमा विवरण संकलन र जग्गा नापजाँचको काम भइसकेको भन्दै अब सुकुमबासी समस्या सामधान आयोगले लालपूर्जा वितरण गर्ने मात्र काम बाँकी रहेको बताए ।
कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा.अङ्कुर पौडेल, नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरी, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक सोभन विक्रम राणाले विषयगत रुपमा आएका प्रश्नहरुको जवाफ दिएका थिए ।
प्रस्तुती मिडियाको सहजीकरणमा भएको उक्त कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, टोल विकास संस्थाका प्रतिनिधि, महिला समुहका प्रतिनिधि, आमा समुहका प्रतिनिधि तथा नगरबासीहरुको उपस्थिति रहेको थियो ।








