रत्ननगर, असाेज १० । सपना भिलेज सोसियल इम्प्याक्ट र रेस्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाले संयुक्त आयोजनामा रत्ननगर–१२ मा अवस्थित राष्ट्रिय आधारभूत विद्यालय जमुनापुरका विद्यार्थीहरूको घरमा ५० वटा धुवाँरहित चुलो वितरण गरिएको छ।
यस विद्यालयमा विशेष गरी विपन्न वर्गका बालबालिका अध्ययनरत रहेका छन्। सपना भिलेजका संस्थापक ध्रुब गिरीले उक्त विद्यार्थीहरूको घर भ्रमण गर्ने क्रममा उनीहरूको अभिभावकहरू अझै पनि दाउरा प्रयोग गरी खाना पकाउने र त्यसले गर्दा घर वरिपरिकै वातावरण धुवामय हुने देखेका कारण यस कदम चालिएको जानकारी दिनुभयो।
यसअघि पनि सपना भिलेजले सो विद्यालयमा विद्यालय पोशाक वितरण गरेको थियो। साथै, हाल यस विद्यालयमा नेपाल सरकारले उपलब्ध गराएको खाजाको रकममा नपुग रकम थपेर पौष्टिक खाजा खुवाउने कार्य पनि सुरु गरिएको जानकारी ध्रुब गिरीले दिनुभयो।
कार्यक्रमका अवसरमा रत्ननगर–१२ का वडा अध्यक्ष सुन्दरमणि सुवेदीले सपना भिलेजको कार्यले विद्यालयमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि रत्ननगर–१२ ले यस कार्यलाई निरन्तरता दिँदै साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।








