रत्ननगर, भदाै ३ । रत्ननगर वडा नं ४ देबौली स्थित समानता आमा समुहको दोस्रो बार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम मंगलबार गरिएको छ ।
वडा अध्यक्ष रामकुमार चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समुहकी अध्यक्ष लीला श्रेष्ठले बार्षिक प्रतिबेदन तथा भावि कार्ययोजना तथा सचिव उर्मिला चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समुहकी अध्यक्ष श्रेष्ठले महिला अधिकार, प्रजनन् स्वास्थ्य तथा आत्मनिर्भताका लागि सीपमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर समुहले काम गरिरहेको बताइन् ।
कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी स्वास्थ्यकर्मी अयोध्या पाठकले नसर्न रोगकोबारेमा सचेतनामुलक प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा वडा सदस्यहरु आस्मा खातुन, बविता चौधरी, र्सिजना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र लामिछाने, बगैंचा टोल विकास संस्थाका अध्यक्ष टीकाराम विश्वकर्मा, आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख निर्मला गैरे, समुहका सहयोगी नारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
समुहले साधारण सभाको अबसरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी स्वास्थ्यकर्मी अयोध्या पाठक र आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख निर्मला गैरलाई सम्मान गरेको छ ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरीले समानता आमा समुहले समाज केन्द्रीत काम गरिरहेको भन्दै रचनात्मक कार्यको लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
समुहकी उपाध्यक्ष पवित्रा श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव चौधरीले सञ्चालन गरेकी थिइन् ।
सोही अबसरमा हरितालिका तीज तथा जितीया पर्वको अबसरमा महिलाहरुले सामुहिक दर खानुका साथै मौलिक संस्कृति झल्कने गीत प्रस्तुत गरेका थिए ।








