बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

चैनपुरको गोठमा साकार भएको सपना: लक्ष्मण घिमिरेको गिर गाई पालन

Share:
396

लक्ष्मण सापकोटा, रत्ननगर । चितवनको खैरहनी नगरपालिका–४, चैनपुरका लक्ष्मण घिमिरे एक यस्ता किसान हुन्, जो परम्परागत कृषिलाई नयाँ र फरक आयाम दिन रुचाउँछन्। उनको जिज्ञासु मन र नवप्रवर्तनप्रतिको लगावले उनलाई सधैं अरूभन्दा भिन्न काम गर्न प्रेरित गर्छ। पछिल्लो समय उनले नेपालमा दुर्लभ मानिने गिर गाई पालन गरेर सबैको ध्यान तानेका छन्। भारतको गुजरातबाट प्रेरणा लिएर सुरु भएको उनको यो यात्रा केवल कृषिको कथा होइन, यो स्वास्थ्य, संस्कृति र आध्यात्मिकतासँग जोडिएको एक प्रेरणादायी गाथा हो।

लक्ष्मणको गिर गाई पालनको सपना भारतको गुजरातबाट पलाएको हो। गुजरातमा गाई पालनको अध्ययन गर्ने क्रममा उनले गौशालाहरूमा गिर गाईको विशेष महत्व देखे। यो गाईको धार्मिक, सांस्कृतिक र स्वास्थ्यसम्बन्धी फाइदाले उनको मन छोयो। उनले मनमनै ठाने, “नेपालमा पनि यस्तो गाई पाल्न सकिन्छ कि?” यो प्रश्नले उनलाई गुजरातका १५ भन्दा बढी गौशालाहरू भ्रमण गर्न प्रेरित गर्‍यो। त्यहाँको अनुभवले उनमा नेपालमा गिर गाई ल्याउने आत्मविश्वास बढायो।

तर, भारतबाट गाई ल्याउनु सजिलो थिएन। गाई ओसारपसारका क्रममा हुने जोखिम र भारतमा गाई मरेका घटनामा किसानले भोगेका कानुनी अप्ठ्याराहरू उनको मनमा खेलिरहे। तैपनि, हिम्मत नहारी उनले सात दिनको कठिन यात्रापछि २०८१ वैशाख १ मा एक गिर गाई र त्यसको डेढ महिनाको बाछीलाई चैनपुरको आफ्नो गोठमा ल्याउन सफल भए। यो यात्रामा उनले २ लाख ३० हजार रुपैयाँ खर्च गरे । गाईको मूल्य १ लाख ६० हजार र बाँकी भाडा तथा अन्य खर्च। उदयपुरका एक किसानसँग सवारी साधन साझेदारी गर्दा खर्च केही कम भएको उनले बताए।

नेपालमा गिर गाई ल्याएपछि उनको मनमा डर थियो– के यो गाई यहाँको हावापानीमा बाँच्न सक्ला? तर, एक वर्षभन्दा बढी समय बित्दा उनको यो प्रयोग पूर्ण सफल भएको छ। गाई स्वस्थ छ, कुनै समस्या देखिएको छैन। “नेपालको हावापानीमा गिर गाई पाल्न सकिन्छ भन्ने प्रमाणित भयो,” उनले गर्वसाथ भने। यो सफलताले उनलाई थप उत्साहित बनाएको छ। आगामी साताभित्र दुई वटा गाई थप्ने र बिस्तारै २० वटा गाई पुर्‍याउने उनको लक्ष्य छ। उनी नेपालमा गिर गाई पाल्न चाहने किसानलाई आफ्नै फार्मबाट गाई बिक्री गर्ने योजनामा छन्।

गिर गाईको विशेषता केवल दूध उत्पादनमा मात्र सीमित छैन। यो गाई सांस्कृतिक र धार्मिक रूपमा पनि महत्वपूर्ण छ। घिमिरेका अनुसार, गिर गाईको उत्पत्ति पाँच हजार वर्षअघि द्वापर युगमा भएको मानिन्छ। भगवान श्रीकृष्णको प्रिय सुरभि गाईको वंशज मानिने यो गाई गुजरातको गिर वन क्षेत्रको नामबाट चिनिन्छ। रातो–खैरो रङ, लामा कान र काँधको विशिष्ट जुरोले यो गाईलाई छुट्टै पहिचान दिन्छ। “श्रीमद्भगवद्गीता समेत यसको दर्शनले पुण्य प्राप्त हुने उल्लेख छ,” घिमिरे भन्छन्।

स्वास्थ्यका दृष्टिकोणले पनि गिर गाईको दूध अमृत समान छ। यसको दूधमा पाइने एटु प्रोटीन पचाउन सजिलो हुन्छ। भिटामिन ए, डी, बी१२, क्याल्सियम, फस्फोरस र म्याग्नेसियमले भरपूर यो दूधले हड्डी, दाँत, दृष्टि र स्नायु प्रणालीलाई स्वस्थ राख्छ। घिमिरेले यो गाइको दूध प्रतिलिटर १५० र गौमूत्र प्रतिलिटर ३०० रुपैयाँमा बिक्री गर्छन्। उनको गाई ‘गंगा’ले दिनमा २० लिटरसम्म दूध दिन्छ। गंगाको बाछी ‘गौरी’ हो, र गंगा मंसिरमा फेरि ब्याउने तयारीमा छ।

चैनपुरमा श्रीमती मिरासँग बस्ने लक्ष्मणका दुई छोरा छन्। जेठा छोरा बुहारी सुष्मितासँग अष्ट्रेलियामा छन्, भने कान्छा छोरा काठमाडौंमा पर्यटन व्यवसायमा। “वृद्धावस्थामा पनि यति मेहनत किन?” भन्ने प्रश्नमा उनले भने, “कृषिमा रमाउँछु, नयाँ कुरा सिक्न र गर्न मन लाग्छ।” रत्ननगर–१० मा जन्मिएका उनी २०७८ मा कृषिका लागि उपयुक्त ठाउँ खोज्दै चैनपुर सरेका थिए।

गिर गाई पालनको महत्वबारे बोल्दै उनले भने, “यो गाईको दूध, गोबर र गौमूत्र स्वास्थ्य र आर्थिक दृष्टिकोणले अमूल्य छन्। चरनमा रमाउने यो गाईले धेरै दूध दिन्छ।” विकसित देशहरूमा समेत हाइब्रिड गाईको सट्टा गिर गाई पाल्ने चलन बढिरहेको उनको भनाइ छ। चितवनमा हाल आफूले मात्र यो गाई पालेको दाबी गर्दै उनले स्थानीय पालिकाहरूलाई किसानलाई यो गाई पालनमा प्रोत्साहन गर्न आग्रह गरे।

लक्ष्मण घिमिरेको यो यात्रा केवल एक किसानको कथा होइन, यो चितवनको कृषि क्षेत्रमा नवप्रवर्तनको प्रतीक हो। चैनपुरको सानो गोठबाट सुरु भएको उनको प्रयासले नेपालमा गिर गाई पालनको उज्ज्वल भविष्य देखाउँछ। उनको जोश र समर्पणले अन्य किसानलाई पनि नयाँ सम्भावना खोज्न प्रेरणा दिने निश्चित छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।