रत्ननगर, साउन १३ । चितवनको पर्यटकीय नगरी सौराहामा उर्जा प्रभावकारी भवन निर्माण सम्बन्धी तीन दिने तालिम सुरु भएको छ ।
रत्ननगर नगरपालिका र बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल(विन) परियोजनाले सयुक्त आयोजना गरेको उक्त तालिमको रत्ननगरका उपमेयर यादब प्रसाद पाठकले उद्घाटन गरेका थिए ।
सो अबसरमा उपमेयर पाठकले भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित गर्ने गरी उर्जा खपत कम हुने खानको भवन डिजाइन गर्नुपर्ने बताए ।
इन्जिनियरहरुको पछि क्षमता विकास आवश्यक रहेको भन्दै भवन निर्माण आचारसंहिताको पूर्णरुपमा पालन गरी उर्जा प्रभावकारी भवन निर्माणको नक्सा डिजाइन गर्नुपर्ने उनले बताए ।
परियोजनाकी आर्किटेक संगिता थापामगरले बनेको भवनमा मान्छे आरामले बस्न सक्ने गरी उर्जा प्रभावकारी भवन निर्माणको लागि परियोजनाले काम गरिरहेको बताइन् ।
चितवन सहित ६० वटा पालिकामा परियोजनाले काम गरिरहेको भन्दै ३४ वटा पालिकाले कार्यविधि बनाएर काम सुरु भइसकेको बताइन् ।
उर्जा प्रभावकारी भवन र अन्य भवनमा १० देखि ११ डिग्री सम्मको तामक्रम अन्तर हुने भन्दै बायुमण्डलमा ३८ डिग्री तापक्रम हुँदा उर्जा प्रभावकारी भवनमा ३२ डिग्री तापक्रम हुने उनको भनाई छ ।
उर्जा प्रभावकारी भवन निर्माणको लागि परियोजनाले भवनको नक्सा डिजाइन गर्ने इन्जिनियरको क्षमता विकासको लागि तालिम, समुदायमा सचेतना, वित्तीय संस्थाका प्रतिनिधिहरुलाई पूँजीगत लागत र नीतिगत व्यवस्थाका विषयमा काम गरिरहेको आर्किटेक थापामगरले बताइन् ।
तीन दिनको अबधिमा तालिममा सहभागी इन्जिनियरहरुलाई उर्जा प्रभावकारी भवन निर्माणको लागि प्राविधिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने छ ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकासचन्द्र ढुंगानाले अब बन्ने भवन संस्थागत र व्यवसायिक हुनुपर्ने बताए ।
भवन निर्माण आचारसंहिताको पालना गर्दै सरकारी तथा नीति स्तरमा काम गरिरहेका इन्जिनियरहरुले उर्जा खपत कम हुने गरी भवनको डिजाइन गर्न आवश्यक रहेको बताए ।
परियोजनाका इन्जिनियर गेहेन्द्र आचार्यले चितवनमा बायुमण्डलको तापक्रम बढ्दै गएको अबस्थामा उर्जा प्रभावकारी भवनको महत्व अझै बढ्ने बताए ।
४० जना सहभागी तालिममा परियोजनाकी आर्किटेक थापामगर, प्रशिक्षक इन्जिनियर निसर्ज कुँवर र इन्जिनियर गेहेन्द्र आचार्यले सहजीकरण गरेका छन् ।
उद्घाटन कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजन महतो सहित सरकारी तथा निजी संस्था सञ्चालक इन्जिनियरहरुको सहभागिता रहेको थियो ।








