रत्ननगर । रत्ननगरका पशुपालक किसान पदम गिरीले मरेका बंगुरको इन्स्योरेन्ट कम्पनीले भुक्तानी दावी गरेको रकम नदिएको गुनासो गरेका छन् । खैरहनी वडा नं ४ चैनपुरमा गौशाला एकीकृत कृषि तथा पशु फाम सञ्चालन गरेका गिरीले यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका २० वटा बंगुरको विमा गरेका थिए ।
रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी गिरी उक्त इन्स्योरेन्ट कम्पनीबाट आफु पीडित बनेको बताएका छन् । बंगुर मरेको २४ घण्टा भित्र सबै प्रक्रिया पुरा गरी कागजात पेश गरेको भन्दै उनले सो इन्स्योरेन्स कम्पनीले आफुलाई नियतबस भुक्तानी नदिएको आरोप लगाएका छन् ।
बिमा ट्याग लगाएको मरेका बंगुरहरुको फोटो, टोल विकास संस्था, इलाका प्रहरी कार्यालय खैरहनी, वडा कार्यालय, नगरपालिकाको पशुपंछी शाखाबाट समेत बंगुर मरेको प्रमाणित कागजात पेश गर्दा पनि भिडियो पेश नगरेको बहाना बनाएर उक्त इन्स्योरेन्स कम्पनीले पैसा नदिएको उनले बताए ।
यूनाइटेड अजोड इन्स्योरेन्सको किसानलाई लुट्ने नियत रहेछ पत्रकार सम्मेलनमा उनले भने यदी पैसा नदिए बकुलहर स्थित कम्पनीको शाखा कार्यालयमा तालाबन्दी गर्छ । २०७९ साल भदौं २४ गते देखि २८ गतेको बीचमा गिरीको फाममा रहेका ८७ वटा बंगुर परेका थिए । उनले २० वटा बंगुरको मात्र बिमा गरेका थिए ।
उतिबेला ८७ वटा बंगुर मर्दा करिब १८ लाख नोक्सान भयो उनले भने २० वटाको मात्र बिमा गरेकोले सोही अनुसार विमा भुक्तानी दावी गरेको हुँ । मरेका बंगुर एक्साभेटरले खनेर पुर्दै गरेको फोटो खिचेर पठाउदा पनि उनीहरुलाई प्रमाण पुगेन उनले भने यो सरासर किसानलाई मार्ने नियत हो ।
किसान गिरीले मरेका २० वटा बंगुरको प्रतिवटा १७ हजारका दरले ३ लाख ४० हजार रुपैया आफुले पाउनु पर्ने बताए । पत्रकार सम्मेलनमा किसान गिरीले यूनाइटेड अजोड इन्स्योरेन्ट कम्पनीले किसानको हितमा काम नगर्ने भन्दै उक्त कम्पनीलाई विश्वास नगर्न आग्रह गरेका छन् ।








