रत्ननगर, साउन ५ । विपी कोइरालाको ४३औं जन्मजयन्तीको अबसरमा सोमबार खैरहनीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १०८ युनिट रगत संकलन भएको छ ।
नेपाली काँग्रेस चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा १०८ जनाले रक्तदान गरेको क्षेत्रीए सचिव उमेश गिरीले जानकारी दिए । खैरहनी वडा नं ४ निवासी १०६ बर्षीय पल्लु गुरुङले काँग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।
सो अबसरमा जिल्ला सभापति खनालले नेपाली राजनीतिमा विपी कोइरालाको योगदान उच्च रहेको भन्दै उनी काँग्रेसको मात्र नभइ सर्वमान्ने नेताको रुपमा स्थापित रहेको बताए । विपी जयन्तीको अबसरमा जिल्लामा सामाजिक देखि अन्तरक्रिया कार्यक्रम सम्म आयोजना गरिएको बताए ।
काँग्रेसले राजनीतिको अलवा समाजमा सकरात्मक सन्देश प्रबाह गर्ने गतिविधि पनि सञ्चालन गर्दै आएको भन्दै उनले यसले पार्टीलाई अझ मनजबुत बनाउने विचार व्यक्त गरे ।
नेपाली काँग्रेस खैरहनी नगर सभापति गुणराज श्रेष्ठले काँग्रेसले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजको अगुवाई गर्ने भन्दै काँग्रेसको राजनीतिक विचार अन्य पार्टीको तुलनामा उच्च रहेको बताए । कार्यबाहक क्षेत्रीय सभापति गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटा, खैरहनीका मेयर शशीकुमार खनिया सहित पार्टीका प्रदेश, जिल्ला र नगर स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधरणले समेत रक्तदान गरेको पार्टीका क्षेत्रीय प्रबक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।







