रत्ननगर, असार २८ । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा वर्षभरि सम्पादन गरिएका कामहरुको समीक्षा गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आर्थिक वर्षभित्र भएका कार्यप्रगति तथा नगरका कार्यक्रमहरुको विवरण प्रस्तुत गर्दै कुल विनियोजित १ अर्ब ४९ करोड ६५ लाख ७५ हजार बजेटमध्ये चालूतर्फ ७३ करोड ६ लाख २२ हजार अर्थात् ८२ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ ४५ करोड ६६ लाख ८१ हजार अर्थात् ७४ दशमलव ७७ प्रतिशत खर्च भएको बताए ।
उनले कुल विनियोजित बजेटमध्ये १ अर्ब १८ करोड ७३ लाख ३ हजार अर्थात् ७९ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको विवरण प्रस्तुत गरे ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा शम्भुभक्त थपलिया, दीपक थापा, लक्ष्मीधर शर्मा, राधिका रिमाल, रुद्र सी, चन्द्रकला पौडेल, सरोज लामिछाने, रमेश पाण्डेलगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा उठेका सवालहरुको जवाफ दिँदै नगरप्रमुख प्रलाद सापकोटाले नगरवासीको हित हुने गरी नगरपालिकाले काम गर्दै आएको र नगरले गरेका असल कामको जस दिनुपर्ने बताए । चियापसलमा नगरपालिकामा केही भएन भन्नेहरुले वडामा भएका विकास पनि हेर्न उनले सुझाव दिए ।
स्वास्थ्यको सवालमा एक जनाले पनि खर्चको अभावमा उपचार पाइनँ भन्ने अवस्था नरहेको र शिक्षाको गुणस्तर बर्सेनि वृद्धि भई अहिले एसइईमा सातै पालिकामध्ये ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनले बताए ।
सुकुमबासीलाई लालपुर्जा दिने विषय वडाध्यक्ष वा मेयरको हातमा नरहेको प्रष्ट पार्दै प्रक्रिया पुगेका १३१ परिवारलाई लालपुर्जा वितरण गरिएको र बाँकी रहेकाको प्रक्रिया पूरा गरी वितरण गरिने जानकारी दिए ।
यस्तै, नगरप्रमुख सापकोटाले नगर गौरवको रुपमा रहेको हरियाली पार्कको निरन्तरताको लागि यस वर्ष १३ करोड विनियोजन गरिएको र बजार क्षेत्रमा हाइमास लाइट र स्ट्रीट लाइट जडानको काम थालनी भएको बताए ।
नगर उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहका सम्बन्धमा सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइसमेत गरिएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले नागरिकता विधेयक २०८१ दोस्रो संशोधन प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको र राष्ट्रिय सभाबाट पारित भएपछि आमाको नामबाट नागरिकता लिन सहज हुने उनले बताए ।
कार्यक्रममा सहायक जिल्ला अधिकारीहरु चिरन्जीवी शर्मा र चूडामणि शर्मा, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रन्जन अवा, वडाध्यक्षहरु, विषयगत शाखाका प्रमुख, सरोकारवाला एवम् नगरबासीको सहभागिता रहेको थियो ।








