नेपाल खबरबाट- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११, पानीचौरका हुन् सरोजकुमार अर्याल। २०६२ सालमा गाउँकै स्कुलबाट एसएलसी पास गरे। प्लस टु पनि त्यहीँबाट गरे।
उनी अध्ययन गरेको स्कुल पूर्वसभामुख तथा हाल माओवादी केन्द्रका उपाध्यक्ष रहेका अग्नि सापकोटा युद्धमा जानुभन्दा अगाडि प्रधानाध्यापक रहेको जनजागृत मावि हो।
स्थानीय जुगल बहुमुखी क्याम्पसमा शिक्षा संकाय मात्र पढाइ हुन्थ्यो। तर, उनलाई शिक्षा पढ्न मन थिएन। त्यसैले २०६५ सालमा काठमाडौँ आए। सोर्हखुट्टेस्थित त्रिविअन्तर्गतको सिग्मा कलेजबाट अङ्ग्रेजी साहित्य र ग्रामीण विकास विषयमा स्नातक गरे।
स्नातक पहिलो वर्ष पढ्दै गर्दा उनले होटलमा रिसेप्सनिस्टको काम गरे। त्यसपछि कन्ट्रिब्युटरको रूपमा कान्तिपुर पब्लिकेसन्सको हेल्लो शुक्रबारमार्फत मिडियामा सिफ्ट भए। एसआर मिडिया खोलेर एनटिभी प्लसको लागि टेलिभिजन कार्यक्रम उत्पादन पनि गरे। केही समय नेपाल इङ्क नामको बिजिनेससम्बन्धी पत्रिका निकाले।
पोल्यान्डको वारसा विश्वविद्यालयले काठमाडौँको ग्लोबल कलेज इन्टरनेसनलसँगको इरास्मस एक्सटर्नल पार्टनेस कार्यक्रम सम्झौता गरेको थियो। सरोजले २०१३ मा सोहीअन्तर्गत ‘जोइन्ट मास्टर डिग्री’ कार्यक्रममा स्नातकोत्तर गर्ने अवसर पाए।
पढ्न पोल्यान्ड आउँछु भन्ने उनले कहिल्यै सोचेका थिएनन्। त्रिविबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्छु भन्ने योजना थियो उनको।
वारसा विश्वविद्यालयमा वरिष्ठ अनुसन्धानकर्ता तथा भिजिटिङ प्रोफेसर रहेका डा मनिष थापाले ‘भाइको रुचि पनि रहेछ, पोल्यान्डमा इन्टरनेसनल रिलेसन (अन्तर्राष्ट्रिय सम्बन्ध) पढौँ’ भनेर दिएको सल्लाह नै उनी यता आउने प्रस्थान विन्दु बन्यो।
स्नातकोत्तरको पढाइ सकिएपछि २०१५ अगस्ट तेस्रो साता उनी काठमाडौँ फर्किए। त्यस वर्ष नेपालमा आएको महाभूकम्पकका कारण उनका आमाबुवा टेन्ट टाँगेर खुला चौरमा बसेका थिए। त्यसैले उनलाई यहाँ बस्न मनै लागेन।
हाल उनी पोल्यान्डको प्रख्यात वारसा विश्वविद्यालय अन्तर्गतको राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संकायमा एसोसिएट प्रोफेसर छन्। साथै इन्टरनेसनल कोलाब्रेसन एन्ड रिसर्च प्रोग्रामअन्तर्गतको ‘सेक्सन फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्टरनेसनल प्रोजेक्ट’ को प्रमुख पनि छन्।
साथै उनी अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा सन् २०३० सम्मका लागि ‘भिजिटिङ स्कलर’ को रूपमा समेत आबद्ध छन्।
जुन २६ मा पङ्क्तिकारले यो सामग्री तयार पारिरहँदा सरोजलाई थप अर्को सफलता हात लाग्यो। उनले पोल्यान्डको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले प्रदान गर्ने ‘युवा वैज्ञानिक फेलोसिप’ पुरस्कार प्राप्त गरेका छन्। इन्टरनेसनल रिलेसन संकायमा यो वर्षको फेलोसिप पाउने उनी एक्लो बनेका छन्।
उमेरले भर्खर ३२ वर्ष पुगेका सरोजको लोभलाग्दो प्रगति यतिमै सीमित छैन।
हरेक वर्ष पोल्यान्डका प्रधानमन्त्रीले प्रदान गर्ने उत्कृष्ट वैज्ञानिक अवार्डमा सरोज यस वर्ष (२०२५) का लागि मनोनयनमा परेका छन्। आगामी सेप्टेम्बरमा यो उपाधिको घोषणा हुनेछ। वारसा विश्वविद्यालयको इन्टरनेसनल रिलेसन संकायका तर्फबाट उनी छानिएका हुन्।
उनको विभागले गर्ने काम हो– अन्तर्राष्ट्रिय कलेज सम्झौता गर्ने। जस्तै, स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमअन्तर्गत पोल्यान्डका विद्यार्थीलाई अन्य मुलुकमा पढ्न पठाउने तथा अन्य मुलुकबाट पोल्यान्ड बोलाउने, विभिन्न मुलुकबाट प्रोफेसरलाई लेक्चरको लागि आमन्त्रित गर्ने आदि। यो संकायले गर्ने अन्तर्राष्ट्रिय कार्यक्रमका सबै काम उनकै विभागले समन्वय गर्छ।
उनले केही समयअघि काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका डिन डा विजय केसी र एसोसिएट प्रोफेसर सविन विक्रम पन्तलाई आमन्त्रित गरेको सुनाए। सरोजको नेतृत्वमा विभागमा सात जनाले काम गर्छन्।
पोल्यान्डबाट स्नातकोत्तर सकेर नेपाल फर्केका उनी सन् २०१६ जनवरीबाट ‘बिल्ड चेन्ज’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कम्युनिकेसन एन्ड अवारनेस प्रमुख भएर तीन वर्ष काम गरे।
वारसा विश्वविद्यालयका राजनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन संकायका प्रमुख प्राध्यापक डा याकुब जाज्कोव्स्कीले सरोजलाई स्नातकोत्तर अध्ययनको समयमा धेरै सहयोग गरेका थिए। उनै प्राध्यापक जाज्कोव्स्कीले पिएचडीको एडमिसन हुनुभन्दा तीन दिनअघि ‘पीएचडी प्रपोजल’ पठाउन भने।
प्रोजेक्टको कामले नुवाकोटको भाल्जेमा थिए। रातको २ बजेसम्म बसेर प्रपोजल तयार गरे र पठाए। प्राध्यापक जाज्कोव्स्कीबाट प्राप्त फिडब्याक रिभ्यु गरेर अन्तिम दिन पठाए। अन्तर्वार्ता पनि सफल भयो।
सन् २०१५ मा वारसा विश्वविद्यालयबाट ‘इन्टरनेसनल रिलेसन’ विषयमा स्नातकोत्तर गर्ने अवसर पाएका उनले फेरि अर्को मौका पाए पीएचडी गर्ने।
उनले २०१९ अक्टोबर २४ तारिखमा बिल्ड चेन्जको जागिरबाट राजीनामा गरेर २५ तारिख पीएचडी अध्ययनका लागि फेरि पोल्यान्ड आए। त्यसयता उनी यतै बसिरहेका छन्।
२०२४ जुन २८ तारिख सरोजले पीएचडी पूरा गरे। अर्थात् डा सरोजकुमार अर्याल बने। २०२४ डिसेम्बरबाट वारसा विश्वविद्यालयको राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध संकायको एसोसिएट प्रोफेसरमा अनुबन्धित भए।
पहिले एसोसिएट प्रोफेसरका लागि पोल्यान्डमा पोलिस भाषाको ज्ञान अनिवार्य थियो। ‘पहिलो पल्ट उम्मेदवारलाई पोलिस भाषा आवश्यक छैन भन्ने भ्याकेन्सी अनाउन्समेन्ट आयो,’ सरोजले खुसी हुँदै भने।
सपनाको क्षितिज र कर्मको दायरा फराकिलो भएको कारण त्यो अवसरलाई उनले सफलतामा परिणत गरे।
पोल्यान्डमा पीएचडी
शैक्षिक योग्यताको सबैभन्दा उपल्लो उपाधि पीएचडी अथवा विद्यावारिधि गर्न पोल्यान्डमा चार वर्ष लाग्छ। पूरै चार वर्षसम्म विश्वविद्यालयको तर्फबाट पैसा पनि पाइन्छ। ‘यदि कसैले समयमा पूरा गर्न सकेन भने दुई वर्ष थप्न पनि मिल्छ तर पैसा भने पाइन्न र आफूले पनि तिर्नु पर्दैन,’ सरोजले भने ‘तर ६ वर्षभन्दा बढी समय लागेमा १९ हजार पोलिस ज्लौटी (हालको विनिमय दरअनुसार रु. ७ लाख रुपैयाँ) विद्यार्थीले बुझाउनु पर्छ।’
उनले सन् २०१९ अक्टोबरमा पीएचडी सुरु गरेर २०२३ नोभेम्बरमा आफ्नो शोधपत्र पेस गरेका हुन्। यो चार वर्षभन्दा केही बढी समय हो। तर, पोल्यान्डमा सोसल साइन्समा पीएचडी गर्न औसत समय ६ वर्ष लागेको पाइन्छ। १४ वर्ष लगाएर गरेको पनि पाइन्छ। यस आधारमा उनको रिजल्ट उत्कृष्टमा पर्छ।
आफूले उत्पादन गरेकामध्ये सरोज अहिलेसम्मकै उत्कृष्ट पीएचडी भएको उनको पीएचडी सुपरभाइजर समेत रहेका वारसा विश्वविद्यालयका राजनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन संकायका प्रमुख प्राध्यापक डा याकुब जाज्कोव्स्की बताउँछन्।
‘उनले डिस्टिङ्क्सनमा पीएचडी गरेका हुन् जुन हासिल गर्न गाह्रो उपलब्धि हो। सरोजमा मैले देखेको अनुसन्धानात्मक प्रकाशनको गुणस्तर र वृद्धि अभूतपूर्व छ,’ डा याकुब भन्छन्, ‘पोल्यान्डमा मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा पहिले नै चिनिएका उनलाई मेरो पूर्व पीएचडी विद्यार्थी र साथीको रूपमा मान्न पाउँदा धेरै गर्व महसुस गर्छु।’
पोल्यान्डमा पीएचडी अध्ययनमा न्यूनतम ४० घण्टा पढाउने, आफ्नो सम्बन्धित विषयको न्यूनतम एउटा लेख प्रकाशित, प्रशासनिक काम, अन्य विश्वविद्यालयमा निश्चित समय बिताउनुपर्ने लगायत अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नु पर्छ।
‘२०२३ को सुरुबाट नै मैले दुई विषय पढाउन सुरु गरिसकेको थिएँ,’ सरोज भन्छन्। साथमा साउथ एसियाको भूराजनीतिसम्बन्धी ‘कोर्स डिजाइन’ गरेर पढाउन सुरु गरिसकेको पनि उनले बताए।
पहिले वारसा विश्वविद्यालयबाट इन्टरनेसनल रिलेसन, प्रशासन, राजनीतिशास्त्रमा पीएचडी गर्नेलाई पोल्टिकल साइन्स एन्ड एडमिनिस्ट्रेसन लेखेको प्रमाणपत्र दिइन्थ्यो।
२०२२ मा पोल्टिकल साइन्स एन्ड एडमिनिस्ट्रेसनबाट इन्टरनेसनल रिलेसन (वैज्ञानिक विधा)लाई अलग गरियो। जसको कारण पोल्यान्डमा इन्टरनेसनल रिलेसन लेखेको डिग्री पाउने पहिलो व्यक्ति हुन पाए सरोज।
‘मध्य एसियामा भारतको विदेश नीति’ विषयमा पीएचडी गरेका हुन् सरोजले। उनको थेसिसमा आधारित ‘शीतयुद्धको अन्त्यपछि मध्य एसियामा भारतको विदेश नीति’ पुस्तक बेलायतको प्रख्यात बहुराष्ट्रिय प्रकाशन गृह राउटलेजबाट प्रकाशित छ।
त्यस्तै, राउटलेजकै प्रकाशनमा ओसाका युनिभर्सिटी जापानमा इन्टरनेसनल रिलेसनमा पीएचडी गरिरहेका मनिषजङ्ग पुलामीसँगको सहलेखनमा ‘नेपाल एन्ड मेजर पावर्स इन द हिमालय’ पुस्तक आएको छ।
उनको अनुसन्धान क्षेत्र दक्षिण एसियाली क्षेत्रीयता, भारत-चीन राजनीतिक सम्बन्ध, दक्षिण एसियाको बदलिँदो भू-राजनीति, नेपालको विदेश नीति र साना राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्बन्धमा केन्द्रित छ।
सरोज इन्स्टिच्युट फर सेक्युरिटी एन्ड डेभलपमेन्ट पोलिसी (आईएसडीपी) का अनुसन्धानकर्ता पनि हुन्। चाइनाज हिमालयन हसल, क्षेत्रीय विवादबीचको मार्गचित्र, राष्ट्रवाद र भूराजनीति, भारत र नेपालबीच कालापानी सीमा विवादको अध्ययन लगायत उनका अनुसन्धानात्मक लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
अन्तर्राष्ट्रिय सम्बन्धमा आधारित उनको सहलेखनमा ‘इभालुसन अफ इन्डियाज नेबरहुड फस्ट पलिसी’ पुस्तक २०२५ मा प्रकाशित हुँदैछ।
पोलिस भाषा नजान्ने पहिलो कर्मचारी
पीएचडीको अध्ययनसँगै सन् २०२२ नोभेम्बरबाट नै जुन संकायको हाल उनी प्रमुख छन् त्यहाँ काम गर्न सुरु गरिसकेका थिए।
युरोपेली मुलुक पोल्यान्डमा सरकारी कार्यालयमा पोलिस भाषा मात्र प्रयोग गरिन्छ। अङ्ग्रेजी बोलिने अपवाद मात्र हो। पोलिस भाषा नजान्नेको प्रशासनमा काम नै छैन । तर, सरोज उनको शाखाको पोलिस भाषा नजान्ने सम्भवत: पहिलो व्यक्ति हुन्।
सायद आफ्नो अध्ययन विषय ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ र कामको क्षेत्र पनि मिलेका कारण आफूले अवसर पाएको हुन सक्ने उनी बताउँछन्।
सरोजको स्नातकोत्तरमा प्राध्यापक तथा पीएचडी भर्ना समितिका प्रमुख र डिफेन्स कमिटी मेम्बरसमेत रहेका वारसा विश्वविद्यालय स्टुडेन्ट अफेयर्सका भाइस रेक्टर माचेइ रास हुन्। विश्वविद्यालय प्राधिकरणमा उनलाई पूर्णकालीन अनुसन्धानकर्ताको रूपमा पाउँदा खुसी भएको बताउने प्राध्यापक रास कडा परिश्रमका कारण सरोजले प्राप्त गरेको उपलब्धि तथा उनका अनुसन्धानात्मक प्रकाशनको ट्र्याक रेकर्ड असाधारण रहेको भन्छन्।
त्रिभुवन विश्वविद्यालयले ‘रेस्पोन्स’ नै गरेन
विगत दुई वर्षदेखि सरोज वारसा विश्वविद्यालयको राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनको डुअल डिग्री (दोहोरो डिग्री) अध्ययनको सम्झौता गर्छन्। उनको समन्वयमा ताइवान, थाइल्यान्ड, साउथ अफ्रिका, मेक्सिकोलगायत मुलुकका विश्वविद्यालयसँग सम्झौता भइसकेको छ।
डुअल डिग्री सम्झौताका लागि त्रिविअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागमा धेरैपटक इमेल, म्यासेज, फोन गरेको बताउँछन् सरोज। तर, रेस्पोन्स नै आएको छैन। ‘मैले त्रिविको डिपार्टमेन्टमा कयौँ पटक सम्पर्क गरेँ। म यहाँ गर्न सक्ने ठाउँमा छु’, उनी भन्छन्, ‘तर अहँ, एउटा रेस्पोन्स पनि आएन!’
देशको सबैभन्दा ठूलो केन्द्रीय विश्वविद्यालयको यो अवस्था राजनीतीकरणले हो वा अरू केही कारणले आफूले भेउ नपाएको उनी बताउँछन्।
पोल्यान्डबाट डिग्री लिनु भनेको ‘वर्क परमिट’ मान्यता पाउनु जस्तै हो। तर, सरोकारवाला पक्षको चासो नदेखिनु दुर्भाग्य रहेको उनको भनाइ छ।
‘अब यो लेख प्रकाशन भएपछि केही हुन्छ कि!’, सरोजले नेपालखबरप्रति विश्वास दर्साउँदै भने।
के हो डुअल डिग्री (दोहोरो डिग्री)?
‘डुअल डिग्री’ भनेको विद्यार्थीले एकैसाथ फरक विश्वविद्यालयबाट दुई अलग शैक्षिक योग्यतासहितको डिग्री प्राप्त गर्नु हो। यसले विद्यार्थीको सीप र ज्ञानको आधारलाई फराकिलो बनाएर उनीहरूको करिअरको सम्भावना बढाउँछ।
पछिल्लो समय दोहोरो डिग्री शैक्षिक कार्यक्रममार्फत विभिन्न देशका साझेदार संस्थाहरूमा अध्ययन गर्न, द्वि-सांस्कृतिक अनुभव र अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गर्न उपयोगी मानिएको छ।
‘सबैलाई पठाउनु पर्दैन, त्यो सम्भव पनि हुँदैन। मानौँ, त्रिविले प्रत्येक वर्ष ५० जना विद्यार्थी लिन्छ भने ५ जनालाई मात्र डुअल डिग्रीका लागि पोल्यान्ड पठाउने हो भने उनीहरूले दुईतिरबाट डिग्री त पाउँछन् नै, साथमा दुईतिरको अवसरमा पहुँच पनि हुन्छ।’
पोल्यान्डमा अध्ययन खर्च महँगो होला नि त? भन्ने प्रश्नमा सरोज भन्छन्, ‘हुँदैन। पोल्यान्डमा डिग्री अध्ययन गर्न लाग्ने खर्च र काठमाडौँका कलेजको खर्च लगभग उस्तै हो।’
पोल्यान्डमा पढ्न आउने विद्यार्थीले अध्ययनसँगै काम पनि गर्न पाउँछन्। मध्य एसियाबाट आउने अधिकांश विद्यार्थीले प्राय: काम गरेरै आफ्नो खर्च धान्ने गर्छन्।
आफूले पनि पढाइसँगै ‘पार्ट टाइम’ काम गरेको बताउँछन् सरोज। ‘पोल्यान्डमा पहिलेको तुलनामा अहिले कामको प्रशस्त अवसर छ, उनी भन्छन्, ‘तर बढी कामका कारणले पढाइमा हुने बाधाका सम्बन्धमा भने विद्यार्थी आफैँ सचेत हुनु पर्छ।’
वारसा विश्वविद्यालय भनेको केवल एउटा अध्ययन संस्थान मात्र होइन। यसलाई पोल्यान्डको राजनीति र कुटनीतिका अब्बल मानिस उत्पादन गर्ने थलो पनि मानिन्छ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कको मन्त्रिमण्डलमा ३ जना मन्त्री त सरोजको संकायका प्रोफेसरहरू छन्।
‘यहाँको राजनीतिक संस्कार हाम्रो देशको भन्दा फरक छ,’ सरोज भन्छन्, ‘प्रोफेसरसमेत रहेका मन्त्रीहरू प्रत्येक हप्ता पढाउन विश्वविद्यालय आउने गर्छन्।’
उनी एक महिनाअघि दिल्लीस्थित पोल्यान्ड दूतावासले आयोजना गरेको राउन्ड टेबल छलफलमा सहभागी थिए। आफू नेपाली भन्ने थाहा पाएपछि दूतावासका कल्चरल विङ्स प्रमुखले ‘हामीले नेपालसँग जति इन्गेज गर्नुपर्ने हो, गरिरहेका छैनौँ। कसरी गर्न सकिन्छ सल्लाह देउ न’ भनेको उनले सुनाए।
सरोजको भनाइमा पोल्यान्ड नेपालसँग सम्बन्ध विस्तार गर्न चाहन्छ। यसबाट नेपालले कुन कुन क्षेत्रमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा कुटनीतिक डिस्कोर्ष सुरु होस् भन्छन् उनी।
युरोप जाने नेपालीका लागि पहिले ट्रान्जिट रहेको पोल्यान्ड अहिले प्रमुख गन्तव्य बनेको छ। पोल्यान्डमा नेपालीको संख्या बढ्दै गएको छ। अब त्यहीअनुसार नेपाली समुदायका व्यवसाय लगायतका अन्य ठूला गतिविधि हुन आवश्यक रहेको सरोज बताउँछन्।
सम्पूर्ण पूर्वी युरोपमा सेवा तथा कुटनीतिक क्षेत्र हुने गरी पोल्यान्डमा नेपाली दूतावास स्थापना गर्न सके राष्ट्रका लागि फाइदा हुन सक्ने सरोजको ठम्याइ छ। ‘यसका लागि पोल्यान्डको लोकेसन अत्यन्त उपयुक्त र महत्त्वपूर्ण छ’, उनले भने।
यो सफलता सरोजको व्यक्तिगत मात्र होइन। अङ्ग्रेजी माध्यमका निजी विद्यालयमा पढे मात्र अवसर र सफलता प्राप्त हुन्छ भन्ने समाजको कथित मान्यता भत्काउने अगुवाइ हो। नेपाली माध्यमबाट सरकारी विद्यालयमा अध्ययन गरेकाहरू पनि दृढ सङ्कल्पका साथ निरन्तर लगन र कर्म गरेमा सफल हुन सक्छन् भन्ने मार्गदर्शक हुन् सरोजहरू। नेपाल खबरबाट







