रत्ननगर, असार १३ । रत्ननगर वडा नं ६ मा अबस्थित बछौली माविका विद्यार्थीहरुका लागि प्लाष्टिकको प्रयोग न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।
वाइल्डलाइफ भिक्टिम फण्टको आयोजना तथा वर्ड एजुकेशन सोसाइटी सौराहा र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सो विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
फण्टकी अध्यक्ष डोमा पौडेलले प्लाष्टिकले प्रकृति र जीवजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै विद्यार्थी मार्फत समुदायमा सचेतना अभिबृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रममा सहजीकरण गर्दै उनले प्लाष्टिकले जैविक विविधता तथा वन्यजन्तु र जलचर प्राणीमा पारेको असर वारे बुझाउदै प्लाष्टिकको प्रयोग अन्त्य गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष विजय गिरी, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष बसन्त राना, फण्डकी कोषाध्यक्ष रिता पौडेल, सदस्य सीता रिजाल तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।








