शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

कालिकाकाे बजेट ९५ करोड ७ लाख, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता

Share:
314

चितवन, असार ४ । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई अनुमान गरेर बजेट प्रस्तुत गरेकी हुन्।

कालिका नगरपालिकाले आगामी बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको मेयर विनोद रेग्मीले जानकारी दिए।

नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि व्यवसाय दर्ता र नवीकरण शुल्क एक सय रूपैयाँ मात्रै लिने गरी बजेट ल्याएको रेग्मीले बताए।

‘कृषि व्यवसाय दर्ता गर्दा यसअघि एक हजारदेखि पाँच हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्थ्यो। अब दर्ता र नवीकरणमा एक सय रूपैयाँभन्दा तिर्नुपर्दैन,’ मेयर रेग्मीले भने, ‘कृषि क्षेत्रको विकासमा प्रोत्साहन गर्न छुट तथा अनुदानका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं।’

कालिका नगरपालिकामा मह, केरा, च्याउ तथा अन्य तरकारी खेती विस्तार भइरहेको छ। दूध र मासुका लागि व्यवसायिक पशुपालन पनि बढिरहेको छ।

कृषि तथा पशुपालनको क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तयार गरिएको जानकारी मेयर रेग्मीले दिए। उनले मह, च्याउ, केरा, रैथाने कोदो, फापर, अदुवा, हलेदो, पिँडालु लगायत कालिकाका स्थानीय उत्पादन बढाउन र बजारीकरण गर्न यान्त्रिकीकरण र सिँचाइमा लगानी बढाउने बताए।

‘रसायनिक विषादीको विकल्पमा प्रांगारिक मल र जैविक विषादी प्रयोगलाई प्राथमिकता दिने नीति लिएका छौं। व्यावसायिक उत्पादन बढाउन आवश्यक पर्ने यन्त्र, उपकरण खरिदमा अनुदान दिन्छौं। प्राविधिक सहयोग, गुणस्तरीय बीउ, बिरूवाका साथै भण्डारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्छ,’ मेयर रेग्मीले भने।

सामूहिक खेती गर्ने, रोजगारी सिर्जना गर्ने, अर्गानिक खेती प्रवर्द्धन गर्न प्रांगारिक मल, झोल मल, भर्मी कम्पोस्ट मल तयार पारेर प्रयोग गर्ने किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने पनि उनले बताए।

चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर बजेट तयार पारेको जानकारी उनले दिए। कालिका नगरपालिकाको वडा नम्बर १० र ११ चेपाङ बाहुल्य वडा हुन्।

नगरपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उपमेयर विमला तामाङले जानकारी दिइन्।

यस वर्ष नगरपालिकाले ९१० परिवार का ३ हजार ३८३ जनाको उपचारमा सहज हुने गरी स्वास्थ्य बीमा गरिदिएको उनले बताइन्। यसका लागि ३० लाख ९५ हजार रूपैयाँ खर्च भएको थियो।

कालिका नगर अस्पतालको क्षमता विकास गरेर दन्त रोग सेवा थप गर्ने, बिरामी भर्ना गरेर उपचार गर्ने इन्डोर सेवा सञ्चालन ल्याउने उपमेयर तामाङले बताइन्।

नगरपालिकाका प्रवक्ता लक्ष्मण पौडेलले सबै बालबालिकालाई विद्यालय जाने वातावरण तयार पार्न मेयर केयर र उपमेयरसँग बालबालिका कार्यक्रममार्फत प्रोत्साहन गरिने बताए। नगरपालिकाभित्रका पर्यटकीय स्थलहरूको विकास, प्रचार र नयाँ गन्तव्यको खोजी गर्ने, युवाहरूलाई उद्यमी बनाउन सीप, क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने पक्की सडक तयार पार्ने, आर्थिक पारदर्शिता बढाएर बेरूजु शून्यमा झार्ने लक्ष्य राखिएको जानकारी पौडेलले दिए।

कालिका नगरपालिकाले चालु आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७४ हजार रूपैयाँको बजेट ल्याएको थियो।

यस वर्षको जेठ मसान्तसम्ममा चालु खर्च ७२.३४ प्रतिशत र पुँजीगत खर्च ४२.७७ प्रतिशत खर्च भएको वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।