रत्ननगर, असार १ । चितवनको कालिका नगरपालिका वडा नं. ७ का एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरिएको छ । वडाका एकल महिलाका लागि वडा कार्यालयको सहयोगमा निःशुल्क बाख्रा वितरण गरिएको हो ।
कालिका नगरपालिका– ७ का वडाध्यक्ष कमलराज मुक्तानले वडावासी एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको बताए । वडाभित्रका ६ जना एकल महिलालाई एक–एकवटा बाख्रा निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् । वडा कार्यालयबाट बाख्रा पाएपछि राहतको महसुस गरेका एकल महिलाले थोरै भए पनि वडाले दिएको सहयोगले दैनिकी चलाउन टेवा पुग्ने बताएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले निःशुल्क उपलब्ध गराएको बाख्राको समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयबाट प्रवाह हुने अन्य सेवा–सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको बताईन् ।
उनले भनिन्, “एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।”
एकल महिला कालिका नगर अध्यक्ष राधिका भण्डारी अर्यालले एकल महिलाको जीवनस्तर उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताईन् ।
बाख्रा वितरण कार्यक्रममा कालिका ७ की वडा सदस्य शर्मिला भण्डारी, कालिकाका शाखा अधिकृत प्रकाश चन्द्र पौडेल, पशु शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेल, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल लगाएतको सहभागिता रहेको थियो ।
वडा सचिव मधुकुमार थापाले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ७ का वडा सदस्य महेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।







