माडी, जेठ ३० । चितवनको पर्यटन क्षेत्रमा कार्यरत नेचरगाइडहरुको क्षमता विकासको लागि अभिमुखीकरण तालिम माडीको बोटे सामुदायिक होमस्टेमा सुरु भएको छ ।
पर्यटन कार्यालय सौराहाको आयोजना तथा नेचर गाइड एशोसियस सौराहा र वर्ड एजुकेशन सोसाइटीको सहकार्यमा गरिएको उक्त तालिमको माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष अमित लामाले उद्घाटन गरेका थिए ।
सो अबसरमा उनले पर्यटन विकासका लागि सौराहा र माडीको सहकार्य आवश्यक रहेको बताए ।
सौराहासंग माडीको पर्यटनलाई जोड्न सके ग्रामिण पर्यटन प्रर्वद्धन हुने भन्दै उनले सौराहासंग सहकार्य गर्न माडी नगरपालिका इच्छुक रहेको बताए ।
माडीको धार्मिक पर्यटन लोभलाग्दो रहेको भन्दै उनले सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई माडीको धार्मिक पर्यटनले बसाई लम्ब्याउन सहयोग गर्ने बताए ।
पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेमप्रसाद ढकालले चितवनको पर्यटन क्षेत्रमा कार्यरत नेचर गाइडहरुको क्षमता विकासको लागि तालिम आयोजना गरिएको बताए ।
चितवनको पर्यटन विकासमा नेचरगाइडको भूमिकलाई सशक्त बनाउदै उनीहरुको क्षमता विकासको लागि कार्यक्रम कोसेढुंगा सावित हुने बताए ।
नेचर गाइडहरुले चितवनको पर्यटन र जैविक विविधताको महत्वलाई अन्तराष्ट्रिय स्तर सम्म पुर्याउने महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यालय प्रमुख ढकालले उनीहरुको योगदान विशिष्ट रहेको बताए ।
वाइल्डलाइफ भिक्टिम फण्डकी अध्यक्ष डोमा पौडेलले मन्तव्य तथा वर्ड एजुकेशन सोसाइटीका उपाध्यक्ष जंगिलाल चौधरीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनकौली मध्यवर्ती सामुदायिक वनका पूर्वउपाध्यक्ष घनश्याम तिमिल्सिना, थारु कल्याणकारिणी सभा चितवनका उपाध्यक्ष भूवन चौधरी, प्रकृतिको साथी नामक संस्थाका अध्यक्ष सोम जिसी लगायतको उपस्थिति रहेको थियो ।
तालिममा चरा विज्ञहरु बासु विडारी, कपिल पोखरेल, बद्रि चौधरी, टेकबहादुर गुरुङ, सोम जिसीले सहजीकरण गरिएका छन् ।
दुई दिन सम्म चल्ने तालिममा ६५ जना नेचरगाइडहरु सहभागी रहेको नेचर गाइड एशोसियसका अध्यक्ष अनिल गुरुङले जानकारी दिनुभयो ।







