रत्ननगर, जेठ ६ । रत्ननगर नगरपालिका वडा नं १५ मा यही जेठ १० गतेबाट दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
माधवपुर खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. रहेको छ ।
आयोजकले मंगलबार माधवपुर स्थित खेल मैदानमै पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।
जेठ १८ गते सम्म चल्ने सो प्रतियोगितामा वागमती पुलिस क्लव हेटौडा, एपीएफ, प्याराडाइज युवा क्लव, अभिषेक चर्ज रजहर, हेटौडा फुटबल क्लव, सुर्यपुर फुटबल क्लव, आयोजक टिम र न्यू पञ्चदिप युवा क्लव रत्ननगर १२ भाग लिएको गोल्डकपका संयोजक भिमराज वाइवाले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले २ लाख २२ हजार २२२ र उपविजेता टिमले एक लाख ११ हजार १११ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।
प्रतियोगितामा म्यानअफ दी म्याच हुने खेलाडीलाई पुरस्कृत सहित उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोल कर्तालाई मेडल प्रदान गरिने उनले जानकारी दिए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन र खेलकुदको माध्यमबाट माधवपुर सहित रत्ननगरलाई चिनाउने उद्देश्यले गोल्डकप आयोजना गरिएको भन्दै अध्यक्ष तामाङले खेल मार्फत पर्यटनको विकास गर्ने थप उद्देश्य रहेको बताए ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले रत्ननगरको पहिचानको रुपमा स्थापित माधपुर गोल्डकपलाई स्थानीय सरकारको सहयोग रहेको बताए ।
माधवपुरमा खेल मैदान रहेको भन्दै उनले व्यक्तिको जग्गा भाडामा लिएर खेलमैदान तयार गरेको भन्दै उनले वडा कार्यालयले खेलकुदको विकासको लागि महत्व दिएर काम गरिरहेको बताए ।
प्रतियोगिताको उद्घाटनको लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ल्याउने तयारी भइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र वडा कार्यालय रहेका छन् । रमेश नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।








