लखनउ, वैशाख १० । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्समाथि ४० रनको सहज जित दर्ता गरेको छ । बुधबार राति लखनउमा भएको खेलमा राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभरमा मात्र ११९ रनमा समेटिएको हो ।
लखनउलाई सस्तैमा समेट्न राजस्थानका बलरले कसिलो बलिङ गरे । टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । राजस्थानका लागि रवीन्द्र जडेजाले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा अविजित ४३ रन जोडेका थिए ।
मध्यम लक्ष्य पछ्याएको लखनउका लागि मिचेल मार्सले ५५ रनको अर्धशतकीय पारी खेले पिन अन्य कुनै पनि व्याट्सम्यान टिक्न सकेनन् । १८ औँ ओभरमा अन्तिम विकेट गुमाउँदा लखनउ ११९ रनमा सीमित भयो ।
राजस्थानको जितमा अलराउन्डर रवीन्द्र जडेजा नायक बने । ब्याटिङमा ४३ रनको योगदान दिएका जडेजाले बलिङमा चुस्त प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।
यो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको दोस्रो स्थानमा यथावत छ भने लखनउ सुपर जाइन्ट्स नवौँ स्थानमा खस्किएको छ । एजेन्सी








