रत्ननगर, जेठ १ । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायको जीवनस्तर उकास्न मौरीपालन तालिम दिइएको छ ।
सपना भिलेज सोसल इम्प्याक्ट सौराहाले वडा नं २ काउले, छापडाँडा, हात्तीवाङ, तोवाङ र घुर्केसका २६ जनालाई व्यवसायिक तालिम दिएको हो ।
मौरीपालन मार्फत चेपाङ समुदायको जीवन स्तर उकास्न तालिम दिइएको सपनाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । परियोजना अन्तर्गत पहिलो चरणमा मौरीका घारहरू वितरण गरिएका नमुना किसानहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए ।
मौरीपालन केवल मह उत्पादनको विषय मात्र नभइ कृषि उत्पादकत्व बढाउने र ग्रामीण आम्दानी सुदृढ गर्ने दीगो उपाय भएको भन्दै गिरीले आत्मनिर्भर र सक्षम समुदाय निर्माणको एक महत्वपूर्ण आधार बन्ने बताए ।
तालिमको पहिलो दिन मौरीपालन विशेषज्ञ हेम सुवेदीले मौरीको जात, घार व्यवस्थापन, मौसमी स्याहार, कीरा रोग नियन्त्रण र मह संकलनका विषयहरू तालिम दिएका थिए ।
तालिममा सहभागीहरुलाई व्यावसायिक मौरी फार्मको अवलोकन तथा मौरीघारको सेटअप, मौरीको व्यवहार र आधुनिक उपकरणहरूको प्रयोगको विषयमा ज्ञान दिलाइएको गिरीले जानकारी दिए ।
तालिमको दोस्रो दिन व्यवहारिक अभ्यास गराई मौरीघारको निरीक्षण, रानी मौरीको पहिचान, सफा राख्ने तरिका, र कीरा रोग व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो ।
तालिममा सहभागीहरुले व्यवहारिक तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए र दीर्घकालीन प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।
सन् २०२६ जुलाईसम्म चल्ने सपना भिलेज र इन्टरनेशनल रेनवाटर हार्भेस्टिङ अलायन्सको साझेदारीमा सञ्चालित परियोजनाले मध्यपहाडी क्षेत्रका समुदायमा दीगो कृषि प्रणाली र आत्मनिर्भर जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्य रहेको सपना भिलेजका अध्यक्ष गिरीले बताए ।








